काठमाडौ : खानेपानीमन्त्री मणिचन्द्र थापाले मेलम्चीको पानी काठमाडौ ल्याएर सबैको धारामा समानुपातिक रुपमा वितरण गर्न नसके त्यसपछिको स्थिति झनै भयावह हुने बताउनुभएको छ । काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को १३ औं बार्षिकोत्सव समारोहमा मन्त्री थापाले मेलम्चीको पानी काठमाडौमा ल्याएपछि वितरणमा ठूलो चुनौती रहेको बताउनुभएको हो । उहाँले मेलम्चीको पानी सुन्दरीजलमा ल्याएर प्रशोधन गरेपछि वितरणको जिम्मेवारी केयूकेएलको भएको र यसका लागि पूर्ण तयारी गर्नुपर्ने बताउनुभयो ।
उहाँले अहिले पानीको राम्रो व्यवस्थापन भएको भारतको दिल्लीको उदाहरण दिदै त्यहाँको पानीको राम्रो व्यवस्थापन हुनुमा मुख्यमन्त्रीको समेत हात रहेको बताउनुभयो । मुख्यमन्त्री आफै फिल्डमा खट्ने, टुटी तथा भल्वहरु समेतको जाँच गर्न समेत मन्त्री नै पुग्ने र कर्तव्यनिष्ठ कर्मचारीका कारण त्यो सम्भव भएको बताउनुभयो । तर उहाँले आफू पनि त्यस्तै गर्ने प्रतिबद्धता भने व्यक्त गर्नुभएन ।
बिस्तृतमा यो भिडियो हेर्नुहोस् :
काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको १३ औं बार्षिक साधारण सभामा खानेपानी सचिव माधव बेल्बासे, काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा.सञ्जीव विक्रम राणा, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक मीना श्रेष्ठ, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का आयोजना निर्देशक कमलराज श्रेष्ठ, चन्द्रागिरी नगरपालिकाका मेयर घनाश्याम गिरी, बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, केयूकेएलका अध्यक्ष तिरेश प्रसाद खत्री, केयूकेएलका कर्मचारीहरु लगायतको उपस्थिति थियो ।
बार्षिकोत्सव समारोहमा उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।


1699 पटक हेरिएको 

