दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी राष्ट्रिय अभियान सुरु (भिडियो)

काठमाडौ : सोसाईटी अफ पब्लिक हेल्थ ईञ्जिनियर्स नेपाल (सोफेन) तथा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनको सहयोगमा एन्फो र सोफेनले सँगसँगै दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी राष्ट्रिय अभियान सञ्चालन गर्न लागेको हो । सोफेन र एन्फो बीच यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भईसकेको छ ।


अभियान अन्तर्गत सोफेनले विभिन्न सञ्चार माध्यमबाट समन्वय गरी दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी व्यापक जनचेतनात्मक कार्यक्रम सञ्चालन गर्नेछ । यस्तै दिसाजन्य लेदो व्यवस्थापनकै बिषयमा मात्र सोफेनले वेभसाईट समेत सञ्चालन गर्ने भएको छ । वेभसाईटमा समाचार, अध्ययन अनुसन्धानको प्राप्ति, दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी अन्तराष्ट्रिय अभ्यास जस्ता पक्षलाई समेत समावेश गरिने Innovative solutions का डा. भुषणराज श्रेष्ठले जानकारी दिनुभयो । वेभसाईटमा विभिन्न संघसंस्थाले आयोजना गरिने दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी कार्यक्रमको समेत जानकारी दिईने र वेभसाइटकै माध्यमबाट आयआर्जन गर्न सकिने गरी यस सँग सम्बन्धित सूचना, विज्ञापन समेत प्रकाशन गरिने उहाँले जानकारी दिनुभयो ।

अभियानलाई सशक्त बनाउन राष्ट्रिय स्तरमा निर्देशक समिति समेत गठन गरिएको छ । निर्देशक समितिमा खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, सोफेन, नेपाल नगरपालिका संघ (मुआन), एन्फो लगायत संस्थाका प्रमुख तथा प्रतिनिधीहरु सदस्य हुनुहुन्छ । निर्देशक समितिका सदस्यहरुले दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी अभियान सञ्चालन गर्नका लागि आ आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का कार्यकारी निर्देशक भावना शर्माले दिसाजन्य लेदो व्यवस्थापनको बारेमा स्थानीय बासिन्दालाई सचेतना अभिबृद्धि गराउनुपर्ने बताउनुभयो । उहाँले दिसाजन्य लेदो व्यवस्थापन केन्द्रलाई डम्पिङ साईट सँग तुलना गरेर हेर्ने भएकाले समस्या सिर्जना भएको बताउनुभयो । उहाँले एन्फोले क्षमता अभिवृद्धिका सवालमा धेरै तालिमहरु सञ्चालन गरिरहेको र एन्फोसँग ल्याब समेत भएकाले रिसर्चका कामहरु गर्न सकिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हेरौं यो भिडियो :

कार्यक्रममा खानेपानी मन्त्रालयका सिनियर डिभिज्नल इन्जिनियर योगेन्द्र चित्रकारले मन्त्रालयले पनि दिसाजन्य लेदो व्यवस्थापनको क्षेत्रमा काम गरिरहेको बताउनुभयो । उहाँले सोफेनले सञ्चालन गर्न लागेको दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी वेभसाईटलाई ज्ञान केन्द्रको रुपमा प्रयोग गर्न सकिने बताउनुभयो । नेपालले दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु समेत जनाईसकेकाले हामीले गर्ने क्रियाकलापहरु पनि त्यसैतर्फ केन्द्रित हुनुपर्ने गर्नुभयो । उहाँले विभाग र मन्त्रालयले प्रयोगमा ल्याएको एनवास एप्लिकेसनमा १९२ वटा नगरपालिकाहरुको वासको डाटा अपडेट भईरहेको र ६४ वटा नगरपालिका सँग हालै सम्झौता गरेर डाटा अपडेट हुने क्रममा रहेको जानकारी गराउनुभयो ।

यस्तै सोफेनका अध्यक्ष डा. सञ्जीव विक्रम राणाले दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी राष्ट्रिय अभियान सफल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अहिले सम्म बनेका सेफ्टी ट्याङ्कीहरु होल्डिङ ट्याङ्को रुपमा मात्र रहेकाले त्यसलाई शिल्ड सेफ्टी ट्याङ्की बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो । अध्यक्ष राणाले स्थानीय सरकारका प्रमुखहरुले यो कुरालाई ध्यानमा राखेर नगरपालिकामा सिटी वाईड इन्क्लुसिभ स्यानिटेशनको प्लान बनाउन ढिलाई गर्न नहुने बताउनुभयो ।

कार्यक्रम माथि टिप्पणी गर्दै पूर्व सचिव सुमन प्रसाद शर्माले सबैतिर ढल प्रणाली भए हुन्थ्यो भन्ने चाहना सबै नागरिकमा भएपनि देशको स्रोत साधनका कारण त्यो सम्भव नभएको बताउनुभयो । उहाँले सबै घरपरिवारको चर्पीलाई ढल प्रणालीमा जडान गर्ने कुरा चीनबाट रेल ल्याउने कुरा जस्तै भएको बताउनुभयो । उहाँले दिसाजन्य लेदो व्यवस्थापनको काम स्थानीय सरकारकै भएको बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार