बाल्टिले बदल्यो हात धुने बानी (भिडियो रिपोर्ट)

ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. १०, फेदीखोलाकी कान्छीमाया तामाङ गाईवस्तुको स्याहार सुसार गरेपछि साबुन पानीले मिचीमिची हात धुनुहुन्छ । खाना बनाउनु अघि, खाना खानु अघि, चर्पी गएपछि तथा बच्चाको दिसा धोएपछि मात्र हात धुँदै आउनुभएकी तामाङले गाईबस्तुको स्याहार सुसार गरेपछि पनि हात धुनुपर्छ भन्ने थाहा पाएपछि साबुन पानीले हात धुन थाल्नु भएको हो ।

हेरौं यो भिडियो रिपोर्ट :

कोरोना भाईरस लगायत अन्य भाइरस तथा ब्याक्टेरियाबाट लाग्ने रोगबाट बच्न साबुन पानीले हात धुुनुपर्छ भन्ने थाहा पाएपछि महालक्ष्मी नगरपालिकाको वडा नं. १० का हरेक घरपरिवारका सदस्यले हातधुने कामलाई प्राथमिकता दिन थालेका हुन् । हात धुनुपर्ने अवस्था र तरिकाबारे वातावरण र जनस्वास्थ्य संस्था एन्फोका सहजकर्ताहरुले दिएको तालिममा भाग लिएपछि हात धुनैपर्ने अवस्थाबारे थाहा पाएका हुन् । गाईबस्तुको स्याहार सुसार तथा जंगलबाट फर्केपछि साबुन पानीले हात नधोई घरभित्र समेत नपस्ने स्थानीय बताउँछन् ।

हात धुने बानीमा परिवर्तन ल्याउन वातावरण र जनस्वास्थ्य संस्था एन्फोले ललितपुरको महालक्ष्मी नगरपालिकाका सबै वडामा स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना सञ्चालन गरिरहेको छ । हातधुनु पर्ने अवस्था र हात धुने तरिकाबारे महिला समूहरुलाई केन्द्रित गरी विभिन्न कक्षहरु सञ्चालन गरिन्छ । आमाले हात नधुँदा भावी सन्ततिमा पर्ने असर र हात धुँदाको अवस्थामा आमा र बच्चालाई हुने फाइदाका बारेमा ती कक्षहरुमा छलफल गरिने भएकाले हात धुने बानीमा परिवर्तन ल्याउन ती सेसनहरु सहयोगी भएको बताउनुहुन्छ, स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजनाका संयोजक सिर्जना शाक्य ।

हात धुने कामलाई सजिलो बनाउन स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजनाले एकल महिला, बृद्धबृद्धा, गर्भवती तथा अपाङ्गता भएका व्यक्तिको घरमा बाल्टिन तथा विद्युतीय केट्ली समेत प्रदान गरिएको छ । नगरपालिकाको वडा नं. १० मा मात्र ११० घरमा बाल्टिन बितरण गरिएको र यसबाट हात धुने बानीमा परिवर्तन ल्याउन सफल भएको बताउनुहुन्छ असिस्टेन्ट हेल्थ प्रमोसन अफिसर ऋतु शर्मा ।

स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजनाले छोटो समयमा भएपनि राम्रो छाप छोड्न सफल भएको वडाध्यक्ष बलराम लामाको ठम्याई छ । साँच्चिकै स्वच्छता सम्बन्धी बानी व्यवहार परिवर्तन गर्न समय लाग्ने भएपनि हात धुने बानीमा भने बिस्तारै परिवर्तन हुँदै गएको उहाँको भनाइ छ ।

हात धुने काम त्यत्ति गाह्रो काम होइन, तर यत्ति सजिलो काम पनि हामी अरुकै लागि गरिदिनुपर्ने झैं गर्छौं । कोरोनाकाल अझै सकिएको छैन । त्यसैले हरेक नौलो बस्तु छुने बित्तिकै साबनु पानील्े हात धुन नबिर्सौ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार