काठमाडौ : मेलम्ची खानेपानी काठमाडौमा ल्याएपछि काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) द्वारा सञ्चालित २६ वटा डिप ट्यूवेल बन्द गरिने भएको छ । केयूकेएलद्वारा सञ्चालित ९६ वटा डिप ट्यूवेल मध्ये २६ वटा ट्यूवेल बन्द गरिने केयूकेएलको इलेक्ट्रो–मेकानिकाल शाखाका प्रमुख ई.कृष्णहरि बुढाथोकीले जानकारी दिनुभयो । बन्द गर्न लागिएका अधिकांश डिप ट्यूवेल रिङरोड भित्रका हुन् ।
इञ्जिनियर बुढाथोकीका अनुसार हाल सञ्चालित ९६ वटा डिप ट्यूवेल मध्ये २० वटा रिङरोड भित्र र ७६ वटा ट्यूवेल रिङरोड बाहिर छन् । मेलम्ची खानेपानी आएपछि पनि रिङरोड बाहिरका डिप ट्यूवेलहरु सञ्चालनमा रहने र बन्द गरिने २६ वटालाई पनि कुनै पनि बेला सञ्चालन गर्नुपरेमा तयारी अवस्थामा राखिने इञ्जिनियर बुढाथोकीले जानकारी दिनुभयो ।
विस्तृतमा हेरौं यो भिडियो :
केयूकेएलले थप ७ वटा डिप ट्यूवेल ड्रिलिङको काम सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको छ । यसबाट थप १ करोड लिटर प्रतिदिन खानेपानी थप गर्ने योजना रहेको छ । यस्तै चालु आर्थिक बर्ष भित्रै थप ११ वटा डिप ट्यूवेल निर्माण सम्पन्न गरी सञ्चालन गर्ने योजना रहेको इलेक्ट्रोमेकानिकल शाखाले जनाएको छ । ‘आर्थिक बर्ष २०७७/०७८ भित्रै ११ वटा डिप ट्यूवेल सम्पन्न गरी थप १ करोड लिटर पानी थप्ने योजना छ’ इलेक्ट्रो–मेकानिकल शाखाका प्रमुख ई.कृष्णहरि बुढाथोकीले भन्नुभयो ।


1250 पटक हेरिएको 

