काठमाडौंमा अब दैनिक ६ घण्टा पानी दिने तयारी, सम्भावित समस्यालाई हल गर्न ‘क्विक रेस्पोन्स टिम’

काठमाडौ : मेलम्चीको पानीले खानेपानी समस्या हल गर्ने काठमाडौ उपत्यकाका बासिन्दाको बर्षौदेखिको सपना पूरा हुने क्रममा छ । गत शनिबार मेलम्चीको पानी काठमाडौको सुन्दरीजल आईपुगेपछि राजधानीबासीमा केही आशा पलाएको हो । सुरुङमार्ग तथा अन्य संरचनामा केही खराबी नआए अबको एक देखि दुई महिनाभित्र काठमाडौमा मेलम्चीको पानी वितरण गरिने सम्बन्धित अधिकारीहरु बताउँछन् ।

काठमाडौ उपत्यकामा मेलम्चीको पानी ल्याएपछि आउन सक्ने सम्भावित समस्याको समाधान गर्न काठमाडौ उपत्यका खानेपानी लिमिटेडले ‘क्विक रेस्पोन्स टिम’ समेत बनाएको छ । हरेक खानेपानी वितरण शाखा कार्यालयमा कार्यालय प्रमुखको नेतृत्वमा ‘क्विक रेस्पोन्स टिम’ बनाएको हो । क्विक रेस्पोन्स टिममा शाखा प्रमुखको नेतृत्वमा प्लम्बर, पम्प अपरेटर र भल्भ अपरेटर, चाबी चालक सहितका कर्मचारीहरु संलग्न हुन्छन् ।

‘क्विक रेन्सपोन्स टिम’ ले खानेपानी वितरणको क्रममा कुनै पनि ठाउँमा पानीको चुहावट भएमा, टुटेफुटेमा तत्काल टिम परिचालन गरी समाधान गरिने केयूकेएल बानेश्वर शाखाका प्रमुख इञ्जिनियर नारायण कर्णले बताउनुभयो । उहाँले क्विक रेन्सपोन्स टिमका सदस्यहरु सम्बन्धित सर्भिस् रिजर्भ्वायर ट्याङ्क (SRT) मा तयारी अवस्थामा रहने र जहाँ जत्तिबेला दौडिनुपर्ने त्यत्ति नै बेला दौडिने बताउनुभयो ।

विस्तृतमा हेरौं यो भिडियो : 

बानेश्वरका शाखाका प्रशासन प्रमुख शंकरराज जोशीले खानेपानी वितरणको क्रममा जुनसुकै बेला आउन सक्ने समस्या हल गर्न रेस्पोन्स टिम चनाखो भएर बस्ने र त्यही अनुसारले कर्मचारीको खटनपटन गरिने बताउनुभयो । उहाँले क्विक रेन्सपोन्स टिमका लागि आवश्यक उपकरण तथा गाडीको प्रबन्ध मिलाएर तयारी अवस्थामा राखिने बताउनुभयो । ‘क्विक रेस्पोन्स’ टिमका सदस्यहरुको मोबाइल नम्बर वेभसाईटमा राखिएकाले पानीको वितरणको क्रममा समस्या आईपरे केयूकेएलका कर्मचारीका साथै सर्वसाधारण नागरिकले समेत रेस्पोन्स टोलीमा खबर गर्न सकिने उहाँले बताउनुभयो ।

हरेक दिन ६ घण्टा वितरण हुने

मेलम्चीको पानी आएपछि काठमाडौमा दैनिक ६ घण्टा पानी वितरण गर्ने केयूकेएलको तयारी छ । अहिले हप्ताको १ दिन २ घण्टाका दरले पानी वितरण गरिरहेको केयूकेएलले पानीको आपूर्ति बढ्ने भएपछि दिनकै ६ घण्टा वितरण गर्ने तयारी गरेको हो । मेलम्चीको सुरुङ परिक्षण सफल भएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौमा आपूर्ति हुनेछ ।

यस्तो छ बानेश्वर शाखाको वितरण तालिका

वानेश्वर शाखाले हाल काठमाडौ महानगरपालिकाको वडा नं. ९, १०, २९, ३०, ३१ र ३२ का उपभोक्तालाई खानेपानी वितरण गरिरहेको छ । बानेश्वर शाखाका कुल उपभोक्ता २८ हजार ५६० घरका २ लाख २८ हजार ४८० जना छन् । हप्ताको २ घण्टा पानी वितरण गर्दै आएको बानेश्वर शाखाले मेलम्ची खानेपानी आएपछि दैनिक ६ घण्टा पानी वितरण गर्ने तालिका समेत बनाइसकेको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार