काठमाडौ : खानेपानीमन्त्री मणिचन्द्र थापाले ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) विघटन नहुने बरु स्थापित र उन्नत बनाएर लैजाने बताउनुभएको छ । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको २५औं बार्षिकोत्सव समारोहमा मन्त्री थापाले जनतामाझ स्थापना भईसकेको संस्थाको विघटन गर्ने कुरा सोच्नै नसक्ने बताउनुभयो । ‘सरकारको तर्फबाट यो संस्था विघटन गर्ने वा महत्व नदिने भन्ने कुरा आउँदैन त्यो गर्न चाहे हाम्रो गल्ती हुन्छ ।’ उहाँले भन्नुभयो ।
हेरौं यो भिडियो :
ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) अन्तर्गत सञ्चालित ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजनाको थप गरिएको समयावधि यही जुन महिनासँगै सकिदैछ । नेपाल सरकार र विश्व बैंक बीच जुलाई २०१४ देखि जुन २०२० सम्म ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजना सञ्चालन गर्न सम्झौता भएको थियो ।
कार्यक्रममा मन्त्री थापाले दिनेश चन्द्र देवकोटाको संयोजकत्वमा गठित समितिले फण्डबोर्डको प्रभावबारे अध्ययन गरिरहेको, मन्त्रालयले पनि अध्ययन गरिरहेको र विश्व बैंकसँग पनि नयाँ ढंगबाट कुरा अगाडि बढिरहेकाले संघीय संरचना अनुरुप उन्नत र स्थापित संंस्था बन्नेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।
उहाँले संघीयताको ढाँचा अनुरुप पुनःसंरचना गर्ने, संस्थालाई स्वयत्त बनाउने, कर्मचारीको बृत्ति विकास नै अहिलेको चुनौती भएकाले मन्त्रालयले यसमा आफ्नो चुनौती ठानेर काम गर्ने बताउनुभयो । उहाँले संघीयता स्थापना भईनसकेको अवस्थामा केही समय अस्थिरता रहन सक्ने तर यो प्रणाली भन्दा अर्को प्रणालीको विकास हुन नसक्ने बताउनुभयो ।


1429 पटक हेरिएको 

