काठमाडौं :
सरकारले जार र बोतलको खानेपानीको मूल्य १० प्रतिशतले घटाएको छ । आपूर्ति विभागले सरोकारवाला निकायसँग छलफल गरी पानीको मूल्य घटाउने निर्णय गरेको हो । व्यवसायीले बजारमा वितरण गर्ने प्रशोधित पानीमा मनपरी मूल्य निर्धारण गर्दा उपभोक्तालाई मार परेको भन्दै आलोचना हुन थालेपछि सरकारले १० प्रतिशत मूल्य घटाउने निर्णय गरेको हो ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र पानी उद्योगीबीचको सहमतिमा प्रशोधित खानेपानीमा १० प्रतिशतले मूल्य घटाउने निर्णय भएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो । ‘प्रशोधित पानीमा पसलैपिच्छे फरक–फरक मूल्य पाएकाले एकरुपता बनाउन मूल्य घटाइएको हो’ निर्देशक श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार उपभोक्ता मूल्य ७० रुपैयाँ पर्ने २० लिटरको जारलाई प्रति जारमा १० रुपैयाँ घटाएर ६० रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै २० रुपैयाँ पर्ने एक लिटरको बोतललाई २ रुपैयाँ घटाएर १८ रुपैयाँ कायम गरिएको छ । राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले पानीको मूल्इ घट्दा उपभोक्तालाई थोरै भए पनि राहत मिल्ने बताउनुभयो । नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष सुभास भण्डारीले दर्ता नगरी सञ्चालन भएका उद्योगले दूषित पानी वितरण गर्दा गुणस्तरयुक्त पानी बेच्नेलाई असर परिरहेकाले त्यस्ता उद्योगलाई तत्काल बन्द गरी प्रशोधित पानीको मापदण्ड कायम गर्नुपर्ने बताउनुभयो ।
दर्ता नगरी सञ्चालन भएका उद्योगले प्रशोधन नगरी ट्यांकरबाट सिधै जार र बोतलमा पानी भरेर वितरण गर्ने गरेको उपभोक्ताको गुनासो छ । संघका अनुसार उपत्यकामा खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागबाट अनुमति लिई सञ्चालनमा रहेका २ सय पानी उद्योग छन् । पानी उद्योगले बजारमा दैनिक १ लाख जार र एक लिटरका १५ देखि २० हजार बोतल उत्पादन गरी विक्री वितरण गरिरहेको छ ।
प्रशोधित पानी पनि गुणस्तरहीन
प्रशोधित पानी पनि गुणस्तरयुक्त नभएको खाद्य विभागले गरेको अनुसन्धानले देखाएको छ । प्रशोधित खानेपानीमा पिएचको मात्र बढी, अम्लियपनको मात्रा घटबढ, हानिकारक सूक्ष्म जीवाणु, प्रशोधन नगरिकन वितरण गर्ने जस्ता समस्या देखिएको विभागले जनाएको छ । पानीमा पीएचको मात्रा ६ दशमलव ५ देखि ८ भन्दा घटबढ हुन नहुने मापदण्ड भए पनि बजारमा वितरण हुने अधिकांश ब्रान्डको पानीमा धेरै समस्या देखिएको छ । दूषित पानीका कारण झाडापखाला, आउँजस्ता रोग लाग्ने चिकित्सकको भनाइ छ ।


1013 पटक हेरिएको 

