काठमाडौ : कोही हातमुख धुन्छन्, कोही नुहाएरै जान्छन् । कोही भने धारा सँगै उभिएर फोटो खिच्छन् । कोही पानी भर्छन् भने कोही अञ्जुँलीमा पानी थापेर आकाशतिर छर्छन् । भृकुटीमण्डपमा निर्मित मेलम्चीको धारामा खुसी साट्नेहरुको फरक फरक शैली देखिन्छन् ।
आइतबार भृकुटीमण्डपमा रहेको मेलम्चीको धारामा पुग्दा यस्तै दृश्य देखिए । मेलम्चीको पानी छोएपछि कसैले चिसो रहेको, धमिलो देखिएको र केही गन्ध समेत आउने गरेको प्रतिक्रिया पनि दिए ।
हेरौं यो भिडियो :
कतिले भने मेलम्चीको पानी आईरहेको देखेपछि मुख नधोइ बस्न नसकेको र कतिले चाहि मेलम्चीको पानी पिउन पाउनुलाई सौभाग्यसँग तुलना गरे । कति त भन्दै थिए ‘भेरी नदीमा पौडी खेले जस्तै आनन्द आयो ।’
२०७७ चैत्र २० गते शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डप स्थित धाराको पानी पिएर मेलम्चीको खानेपानी वितरणको उदघाटन गर्नुभएको थियो । काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यका अनुसार हाल काठमाडौ उपत्यकामा दैनिक साढे ८ करोड लिटर पानी वितरण भईरहेको छ ।
खुमलटार, मीनभवन, महांकालचौर, अनामनगर, बाँसबारी, बालाजु र पानी पोखरीबाट समेत मेलम्चीको पानी वितरण भईरहेको उहाँले जानकारी दिनुभयो । खानेपानी वितरणका क्रममा भएको चुहावट रोकथाम तथा नियन्त्रणको कामलाई पनि सँगसँगै अगाडि बढाईएको उहाँले बताउनुभयो ।


1340 पटक हेरिएको 

