महिनावारीलाई हेयको दृष्टिकोणले हेरिनु हुन्न : पूर्वमन्त्री शाह

काठमाडौ : पूर्व वातावरणमन्त्री गणेश शाहले महिनावारीलाई प्राकृतिक प्रक्रियाको रुपमा लिनु पर्ने र यसलाई हेयको दृष्टिकोणबाट हेरिन नहुने बताउनुभएको छ । गैर सरकारी संस्था गुथिले विश्व महिनावारी स्वच्छता दिवस २०२१ को अवसरमाआयोजना गरिएको ‘महिनावारी स्वच्छता र प्रजनन स्वास्थ्य सम्बन्धी अनलाइन परामर्श कार्यक्रम’ मा उहाँले भनुभयो ‘महिलाहरु भनेको जन्मदाता हो । महिनावारी भएकै आधारमा जननीमाथि हुने हिँसा, दुव्र्यवहार, अपमान र तिरस्कार अनुचित कार्य हो ।’

पूर्वमन्त्री शाहले भन्नुभयो ‘महिनावारी भनेको के हो त भन्ने बारे अझै पनि हामी आफैले बुझ्न र बुझाउन सकेका छैनौ । खानेपानी सरसफाइमा कार्यरत संस्थाहरुले यो विषयलाई उठान गरी जनचेतना जगाउने कार्यक्रम गरे पनि त्यतिले मात्र नपुगेको हो कि ? त्यसैले अझै व्यापक रुपमा महिनावारीबारे बैज्ञानिक तरिकाले बुझाउन क्रियाशील हुनुपर्ने बताउनुभयो ।

उहाँले महिनावारीको अवधिमा व्यक्तिगत सरसफाइ तथा प्याडहरु कसरी सर्वसुलभ र कम मुल्यमा उपलब्ध गर्ने भन्ने विषयलाई द्रुतगतिमा उठाउनु पर्ने बताउनुभयो । ‘प्याड डिस्पोजलको व्यवस्था र प्याडहरु कसरी सुरक्षित रुपमा व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल हुन जरुरी छ’ उहाँले भन्नुभयो ‘महिनावारीमा देशभरका विद्यालयमा सरकारले निशुल्क प्याड दिने घोषणा गरेको दुई वर्ष हुन लाग्दा पनि अझै सम्म बजेट उपलब्ध नभएकोले त्यसको कार्यान्वयनमा ढिलाई भएको छ ।’

विद्यालयमा अध्ययनरत विद्यार्थीहरु महिनावारी भएको बेलामा स्कूल नआउने गरेको भन्दै उहाँले सरकारले समयमै यस कुरालाई मनन गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय महिनावारी सञ्जालका संयोजक गुणराज श्रेष्ठले महिनावारीलाई मानव जीवनको प्रतिष्ठा र मर्यादाको विषय मानेर विश्वभरि नै मे २८ लाई महिनावारीको मासिक चक्रसँग जोडेर दिवस मनाइँदै आईरहेको जानकारी गराउनुभयो ।

नेपाल लगायत संसारका अधिकाँस पिछडिएको देशहरुमा महिनावारीलाई घिन, लाज, सरम र धर्मसँग जोडेर महिलाहरुलाई पछाडि पार्ने र अपहेलित गरी महिनावारीलाई समस्याको रुपमा हेर्ने गरिएको उहाँले बताउनुभयो । ‘महिनावारी भनेको प्राकृतिक प्रकृया हो जुन पुरुषहरुमा पाइन्न तसर्थ महिनावारीलाई विशेष क्षमताको दृष्टिकोणबाट हेरिनुपर्छ ।’ उहाँले भन्नुभयो ।

अनलाइन परामर्श कार्यक्रम महिनावारीमा हुने अनियमितता, महिलाहरुले अनुभव गर्ने दुखाईको कारण, चिकित्सकसँग परामर्श लिनुपर्ने अवस्था, घरेलु उपायहरु अपनाउनु पर्ने अवस्था, महिनावारी भएको समयमा महिलाहरुलाई पौष्टिक आहार तथा विशेष आरामको आवश्यकता लगायत बिषयमा केन्द्रित थियो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार