
काठमाडौ : राष्ट्रिय महिनावारी सञ्जालका संयोजक गुणराज श्रेष्ठले महिनावारीसँग सम्बन्धित विविध सवाल उजागर गर्नुभएको छ । सञ्जालले अन्तराष्ट्रिय महिनावारी दिवसको उपलक्ष्यमा आयोजना गरेको विद्युतीय राष्ट्रिय सम्मेलमा कार्यपत्र प्रस्तुत गर्दै संयोजक श्रेष्ठले सरकारी नीतिको कमी एवं भएको नीतिको पनि फितलो समन्वय, कार्यान्वयन तथा अनुगमन जस्ता सवाल उठाउनुभएको हो ।
संयोजक श्रेष्ठको कार्यपत्रमा समेटिएका महिनावारी सम्बन्धी मुख्य सवालहरु :
♦ नेपाल सरकारबाट चार वर्ष अघि नै मर्यादित महिनारी नीतिको मस्यौदा तयार भए पनि छलफल तथा प्रक्रिया अगाडि बढ्न नसकेको ।
♦ सरकारी नीतिको कमी तथा भएको नीतिको पनि फितलो समन्वय, कार्यान्वयन तथा अनुगमन
♦ गैर सरकारी संस्थाहरुको टुक्रे कार्यक्रमहरु, जसले गर्दा कम प्रभावकारी हुनु ।
♦ अन्धविश्वास कायमै – गाउँ तथा शहर र विदेशमा समेत, जनचेतनाको कमीका साथै धारणामा अन्धविश्वास । त्यसैले जनचेतना अभिबृद्धि तथा धारणा परिवर्तनमा अभियान आवश्यक रहेको ।
♦ महिनावारीलाई धर्म र संस्कृतिसँग जोडिएकाले बैज्ञानिक तथ्यहरु तथा प्रमाणको आधारमा धारणा परिवर्तन आवश्यक रहेको ।
♦ विद्यालयको शिक्षा जैविक सूचनामुलकमात्र, जनचेतना अभिबृद्धि तथा धारणा परिवर्तनमूलक पाठ््यक्रम, पाठ्यपस्तक तथा पाठय सामाग्र्रीको आवश्यकता ।
♦ विद्यालयहरु, सरकारी कार्यालयहरु तथा अन्य सार्वजनिक स्थानहरुमा पानी सहितको महिनावारीमैत्री शौचालयको कमी ।
♦ यौनिक अल्पसंख्यक लिङ्गीका लागि महिनावारीको बहस शुरु नभएको, सेवा तथा जानकारीको आवश्यकता टड्कारो आवश्यकता ।
♦ अपाङ्गताको विविधता अनुसार पाठ्य तथा सूचना सामग्री, सेवा सुविधाको विस्तार आवश्यक
♦ महिनावारीको बेला प्रयोग गर्नुपर्ने प्याड जस्तो अति आवशकीय सामग्री समेत विलासिता सामाग्री सरह कर विद्यमान रहेको ।
♦ सस्तो र सुलभ प्याड वितरण प्रणालीका लागि सरकारको उदासीनता
♦ छौपडी प्रथा उन्मुलनका लागि ठोस कार्यक्रमको अभाव, स्थानीय सरकार र स्थानीय सरोकारवालासँग सहकार्य तथा समन्वयको खाँचो ।
मर्यादित महिनावारी स्थापना गर्न श्रेष्ठले गर्नुभएका सिफारीस
♦ महिनावारी सम्वन्धी नीति, योजना, कार्यक्रमको योजना तर्जमा तथा अनुगमनका लागि अन्तर मन्त्रालय समन्वय संयन्त्रको स्थापना गर्नुपर्ने ।
♦ राष्ट्रिय मर्यादित महिनावारी नीतिको मस्यौदालाई बृहत्तर छलफल गरी स्वीकृत गरी कार्यान्वयन गर्नुपर्ने ।
♦ प्रदेश तथा स्थानीय स्तरमा मर्यादित महिनावारीको निर्देशिका तर्जुमा गर्न सहयोग गर्नुपर्ने ।
♦ लैंगिक हिंसा विरुद्धको राष्ट्रिय अभियानमा मर्यादित महिनावारीको अभियान पनि समावेश गर्नुपर्ने ।
♦ प्याड उत्पादन गर्न कच्चा पदार्थमा लगाउँदै आएको करलाइ छुट गरी प्याड सूपथ मूल्यमा उपलव्ध गराउनुपर्ने ।
♦ WASH and Health Cluster सँग समन्वय गरी कोभिड महामारीका बेलामा महिनावारीको समस्या समाधान गर्नुपर्ने ।
♦ विद्यालयमा लागु भएको निशुल्क प्याड वितरण प्रणालीको प्रभावकारी कार्यान्वयन तथा अनुगमन गर्नुपर्ने ।
♦ विद्यालयको पाठयक्रम, पाठ्यपुस्तक तथा पाठ्य सामग्रीमा मर्यादित महिनावारीको विषयलाई समावेश गर्न निरन्तर प्रयास गर्नुपर्ने ।
मर्यादित महिनावारीका लागि शिक्षा बिषयक सम्मेलन नेपाल टेलिभिजनका नायव महाप्रवन्धक आरती चटौतले सञ्चालन गर्नुभएको थियो । सम्मेलनलाई सञ्जालको तर्फबाट प्लान नेपालका स्वास्थ्य वरिष्ठ सल्लाहकार रक्षा पौडेलले स्वागत गर्नुभएको थियो । विद्युतीय सम्मेलनमा विभिन्न क्षेत्रका ३५० भन्दा बढीले सहभागिता जनाएका थिए ।


2493 पटक हेरिएको 

