
काठमाडौ : राष्ट्रिय योजना आयोगको संयोजनमा अन्तर मन्त्रालय उच्च स्तरीय महिनावारी समन्वय संयन्त्र गठन हुने भएको छ । राष्ट्रिय महिनावारी सञ्जालले आयोजना गरेको विद्युतीय राष्ट्रिय सम्मेलनमा राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाले उच्च स्तरीय महिनावारी समन्वय संयन्त्र गठन गर्ने जानकारी गराउनुभयो ।
सम्मेलनको प्रमुख अतिथि समेत रहेका डा. झाले भन्नुभयो ‘महिला मन्त्रालयसँग समन्वय गरी स्थानीय स्तरमा महिला उद्यमीहरु विकास गरी स्थानीय रुपमै प्याड उत्पादन गर्न सके महिला रोजगार पनि हुने तथा नेपाल सरकारको विद्यालयमा प्याड वितरण गर्ने कार्यक्रमलाई समेत मद्दत पुग्छ ।’
उहाँले केही वर्ष पहिला तयार भएको मर्यादित महिनावारी राष्ट्रिय नीतिलाई विभिन्न मन्त्रालय तथा अन्य सरोकारवालाहरुसँग परामर्श तथा छलफल गरी पारित गर्ने प्रक्रियालाई समेत अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
महिनावारीमैत्री कार्यक्रमलाई निरन्तरता र तीव्रता दिईनेछ : सचिव थपलिया

सम्मेलनमा शिक्षा मन्त्रालयका सचिव राम प्रसाद थपलियाले शिक्षा मन्त्रालयले विद्यालयहरुमा लैङ्गिकमैत्री शौचालय निर्माण गरिरहेको, विद्यालयको पाठयक्रममा मर्यादित महिनावारी सम्वन्धी प्रचूर विषयवस्तुहरु समेट्ने प्रयास भइरहेको र विद्यालयमा निशुल्क प्याड वितरण कार्यक्रम भइरहेको जानकारी गराउनुभयो ।
उहाँले विद्यालयमा प्याड वितरण कार्यक्रम कोभिड महामारीले प्रभावित बनाएको बताउनुभयो । शिक्षा मन्त्रालयले मर्यादित महिनावारीमैत्री कार्यक्रमलाई निरन्तरता तथा तीव्रता दिन बजेटको आकार बढाएको समेत जानकारी गराउनुभयो ।
विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा आयोजित मर्यादित महिनावारीका लागि शिक्षा बिषयक विद्युतीय सम्मेलनमा विभिन्न क्षेत्रका ३५० भन्दा बढीले सहभागिता जनाएका थिए ।


1789 पटक हेरिएको 

