काठमाडौ : सरकारको पन्ध्रौं योजना (२०७५/०७६ – २०८०/०८१) हाल कार्यान्वयनमा छ । पन्ध्रौं योजनाले दिगो विकास लक्ष्य हासिल गर्ने गरी आफ्नो लक्ष्य तथा कार्यक्रमहरु निर्धारण गरी कार्यान्वन गरिरहेको छ । खानेपानी र सरसफाइ तर्फ, सबैको निम्ति खानेपानी तथा सरसफाइको उपलब्धताका साथै दिगो व्यवस्थापन सुनिश्चित गर्ने दिगो विकास लक्ष्य रहेको छ ।
पन्ध्रौं योजनाले भने सबैलाई आधारभूत स्तरको खानेपानी तथा सरसफाइ सेवाको पहुँच सुनिश्चित गर्दै गुणस्तरीय सेवा अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । यो लक्ष्य परिपूर्तिका लागि राष्ट्रिय योजना आयोगले अन्य सहायक लक्ष्यहरु निर्धारण गरी कार्यान्वयन गरिरहेको छ । आयोगले आर्थिक बर्ष २०७५/०७६ लाई आधार बर्ष मानेर आफ्ना लक्ष्यहरु निर्धारण गरेको जनाएको छ ।
आयोगका कार्यक्रम निर्देशक महेश खरेलले २०७५/०७६ मा आधारभूत स्तरको खानेपानी सेवाबाट लाभान्वित ८९ प्रतिशतमा रहेको जनसंख्यालाई बढाएर २०८०/०८१ को अन्त्य सम्ममा ९९ मा पुर्याउने बताउनुभयो । केही समय अघि राजधानीमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) ले आयोजना गरेको खानेपानी र सरसफाइ सम्बन्धी अन्तरक्रियामा राष्ट्रिय योजना आयोगका लक्ष्यहरु प्रस्तुत गर्दै उहाँले पन्ध्रौं योजनाको अन्त्यसम्ममा उच्च मध्यम स्तरको खानेपानी सेवाबाट लाभान्वित जनसंख्या ४० प्रतिशत पुर्याउने लक्ष्य रहेको जानकारी गराउनुभयो । आधार बर्ष २०७५/०७६ मा २१ प्रतिशत जनसंख्या मात्र उच्च तथा मध्यमस्तरको खानेपानीबाट लाभान्वित भएको तथ्याङ्क छ ।
हेरौं आयोगका कार्यक्रम निर्देशक खरेलले गर्नुभएको प्रस्तुतीकरण :
यस्तै खानेपानी गुणस्तर सुधार कार्यक्रम हालको ६० वटा बाट बढाएर पन्ध्रौं योजनाको अन्त्यसम्ममा ५९० वटा पुर्याउने, आधारभूत स्तरको सरसफाइ सुविधाबाट लाभान्वित परिवार ९९ प्रतिशतबाट १०० प्रतिशतमा पु¥याउने लक्ष्य राखेको छ ।
घरायसी प्रयोजनबाट उत्सर्जित फोहोर पानीको प्रशोधन (सुरक्षित रुपमा प्रशोधन गरिएको फोहोर पानी) को अनुपात २० प्रतिशतमा पुर्याउने, जलवायु अनुकुलित वृहत खानेपानी आयोजना/जलाशययुक्त खानेपानी आयोजना १७७ बाट बढाएर ७५३ वटा पुर्याउने र पूर्ण रुपमा सञ्चालित खानेपानी प्रणालीको पहुँच पुगेको जनसंख्या ६२ बाट ९९ मा पुर्याउने लक्ष्य राखेको छ ।
कार्यक्रम निर्देशक महेश खरेलले खानेपानीका प्राकृतिक स्रोत तथा मुहान संरक्षण भूमिगत पानीको पुनर्भरण २० बाट ३०० तथा खानेपानीको गुणस्तर परिक्षण सम्बन्धी प्रयोगशाला ५ बाट बढाएर ३४ पुर्याउने लक्ष्य छ ।


1363 पटक हेरिएको 

