पन्ध्रौ योजनाले राखेको लक्ष्य बमोजिम उपलब्धी नभएको प्रति खानेपानी सचिव शाक्यको चिन्ता (भिडियो)

काठमाडौ : पन्ध्रौ योजना (२०७५/०७६–२०८०/०८१) ले खानेपानी र सरसफाइ क्षेत्रमा राखेको लक्ष्य बमोजिम उपलब्धी हासिल नभएको प्रति खानेपानी सचिव प्रमिलादेवी शाक्य (बज्राचार्य) ले चिन्ता व्यक्त गर्नुभएको छ । शुक्रबार यु.एस.एड. कर्णाली वाटर एक्टिभिटी (USAID Karnali Water Activity) शुभारम्भ भएको घोषणा कार्यक्रममा उहाँले आधारभूत स्तरको खानेपानीमा राखेको लक्ष्य समयमै पूरा हुने देखिएपनि अन्य लक्ष्य हासिल गर्न चुनौती रहेको बताउनुभयो ।

पन्ध्रौं योजनाले आधारभूत स्तरको खानेपानी सेवाबाट लाभान्वित जनसंख्या ९९ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । उहाँले खानेपानी सेक्टरमा काम गर्ने सरोकारवालाहरुको सहयोगबाट पन्ध्रौं योजना सकिनु अघि नै पूरा हुने अपेक्षा गर्नुभयो ।

खानेपानी सचिव शाक्यले उच्च तथा मध्यम स्तरको खानेपानी सेवाबाट लाभान्वित जनसंख्या लक्ष्य पूरा गर्न भने निक्कै चुनौती रहेको बताउनुभयो । आधार बर्ष २०७५/०७६ मा २१ प्रतिशत रहेको उच्च तथा मध्यम स्तरको खानेपानी प्राप्त गर्ने जनसंख्या २४ प्रतिशत पुगेको उहाँले जानकारी गराउनुभयो । पन्ध्रौं योजनाको अन्त्यसम्ममा उच्च तथा मध्यम स्तरको खानेपानी उपलब्ध भएको जनसंख्या ४० प्रतिशत पुर्‍याउने लक्ष्य छ ।

उहाँले मध्यम तथा उच्च स्तरको पानीको आपूर्तिको लागि धेरै चुनौतीहरु रहेको र कर्णाली क्षेत्र निक्कै पछाडिएको ठाउँ भएकाले खानेपानीको सुविधाबाट कोही नछुटोस् भन्नेमा सचेत रहन पनि आग्रह गर्नुभयो ।

यस्तै घरायसी प्रयोजनबाट उत्सर्जित फोहोर पानीको प्रशोधन (सुरक्षित रुपमा प्रशोधन गरिएको फोहोर पानीको अनुपात) २.१ प्रतिशत मात्र पुगेको छ । पन्ध्रौ योजनाको अन्यसम्ममा यो सुविधा २० प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार