काठमाडौ : खानेपानीमन्त्री उमाकान्त चौधरीले खुला दिसामुक्त राष्ट्र घोषणा गरेर दक्षिण एसियामै उदाहरणीय बनेको नेपालले दिगो विकास लक्ष्य पनि समयमै हासिल गर्न सकिने बताउनु भएको छ । विश्व शौचालय दिवसको अवसर पारी खानेपानी मन्त्रालय र स्मार्ट वास सोलुसन्सले संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा मन्त्री चौधरीले यसका लागि संयुक्त संयन्त्र बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले दातृ निकाय, विभिन्न संघसंस्थाहरु र स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले काम गरिरहे पनि समन्वयको अभाव रहेको बताउनुभयो । खुला दिसामुक्त घोषणा भएपनि हिमाल, पहाड र तराईमा रहेका दलित समुदाय, अति विपन्न, हाटबजार, केही स्कुलहरु, सार्वजनिक स्थलहरु, राजमार्गहरु लगायत ठाउँमा शौचालयको अभाव रहेको प्रति सचेत गराउदै स्वच्छ नेपाल निर्माणका लागि ती दुर्गममा रहेका र हिमाल, पहाड, मधेसमा रहेका समुदायमा जनचेतना अभिवृद्धि गराउँदै शौचालयको प्रबन्ध गर्न ‘टोईलेट अभियान्’ नै लैजानुपर्ने बताउनुभयो ।
‘हामीले यसलाई सफल बनाउनका लागि सबै तहलाई को-अर्डिनेसन गर्न जरुरी छ’ उहाँले भन्नुभयो ‘अहिले स्थानीय सरकार आफ्नै आफ्नै ढंगबाट काम गरिरहेको छ, प्रदेश सरकार आफ्नै ढंगबाट चलेको छ । संघीय सरकारले आफ्नै तरिकाले सोचिरहेको छ । दातृ निकायहरुले पनि आफ्नै तरिकाले काम गरिरहेको छ । विभिन्न संघसंस्थाहरु आफ्नै तरिकाले चलिरहेका छन् । त्यसैले हाम्रो कोअर्डिनेसन संयन्त्र निर्माण गर्न आवश्यक छ’ उहाँले भन्नुभयो ।
मन्त्री चौधरीले विश्व स्वास्थ्य संगठन र युनिसेफको प्रतिवेदन अनुसार ४ अर्ब २० करोड जनसंख्याको पहुँचमा सुरक्षित सरसफाइको व्यवस्था नभएको र ६७ करोड ३० लाख जनसंख्या अझै पनि खुला ठाउँमा दिसा गर्न बाध्य भएको जानकारी गराउनुभयो ।
कार्यक्रममा नेपालमा खुला दिसामुक्त अवस्थाको दिगोपना, दिसाजन्य लेदो प्रशोधनको वर्तमान अवस्था, सिकाई र अबको बाटो, सार्वजनिक तथा संस्थागत शौचालयको वर्तमान अवस्था, सञ्चालन तथा मर्मत सम्भार, चुनौती र अबको बाटो एवं शौचालय हाम्रो इज्जत र सरसफाइकर्मीहरुको स्वास्थ्य सुरक्षा तथा मर्यादा लगायत बिषयमा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।
विश्व शौचालयको दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु भईरहेका छन् । संयुक्त राष्ट्र संघको आव्हानमा नोभेम्बर १९ तारिखका दिन संसारभर विश्व शौचालय दिवस मनाईदै आएको छ । यस बर्ष संयुक्त राष्ट्र संघले विश्व शौचालय दिवसको नारा शौचालयको महत्व (Valuing Toilet) राखेको छ ।


847 पटक हेरिएको 

