काठमाडौ : खानेपानी सचिव प्रमिलादेवी शाक्य (बज्राचार्य) ले सरसफाइको क्षेत्रमा थप लगानी बढाउन दातृ निकाय तथा विकास साझेदारहरुलाई आग्रह गर्नुभएको छ । विश्व शौचालय दिवसको अवसर पारी खानेपानी मन्त्रालय र स्मार्ट वास सोलुसन्सले काठमाडौमा आयोजना गरेको गोष्ठीमा उहाँले एक डलर सरसफाइमा लगानी गर्दा ५ डलर प्रतिफल आउने भन्दै यस क्षेत्रमा लगानी बढाउन आव्हान गर्नुभएको हो । ‘सरसफाइमा एक डलर लगानी गर्दा ५ डलरको आउटकम आउँछ भने किन इन्भेष्ट नगर्ने त ?’ सचिव शाक्यले भन्नुभयो ‘त्यसैले म सम्पूर्ण डोनर एजेन्सी, डेभेलप्मेन्ट पार्टनरस् हरुलाई पनि यो सेक्टरमा अझ बढी इन्भेष्टमेन्ट गर्न र खुला दिसामुक्त अवस्थाको दिगोपनाका लागि हातेमालो गर्न आग्रह गर्छु ।’
विश्व स्वास्थ्य संगठन र युनिसेफले प्रकाशन गरेको सन् २०२० को जोइन्ट मनिटरिङ प्रोग्राम (जेएम्पी) को रिपोर्टबारे चर्चा गर्दै उहाँले विद्यालय तथा स्वास्थ्य संस्थाको खानेपानी तथा सरसफाइको स्तर अझै नाजुक भएकाले त्यसको सुधारका लागि लाग्नुपर्ने बताउनुभयो । विश्व स्वास्थ्य संगठन र युनिसेफले तयार पारेको जेएमपी रिपोर्टमा ४७ प्रतिशत स्कुलको शौचालयमा मात्र पानीको सुविधा भएको, ३१ प्रतिशतले चाहिं सीमित पानीले काम चलाई रहेको र २३ प्रतिशत स्कुलमा भने पानी नै नभएको अवस्था देखाएको छ । यस्तै १७ प्रतिशत स्कुलहरुमा खानेपानी र सरसफाइको कुनै पनि सुविधा नभएको अवस्था छ । जहाँका बालबालिका अझै पनि खुला ठाउँमा दिसापिसाब गर्नुपर्ने अवस्था रहेको उहाँले जानकारी गराउनुभयो ।
यस्तै ३६ प्रतिशत स्वास्थ्य संस्थाहरुमा आधारभूत खानेपानीको सुविधा नभएको, ८ प्रतिशत स्वास्थ्य संस्थामा शौचालय सुविधा नै नभएको र ५४ प्रतिशत स्वास्थ्य संस्थामा हात धुने सुविधा र सामग्रीको समेत उपलब्ध नभएको पाईएको छ ।
सचिव शाक्यले शौचालयको संख्या मात्र भएर सरसफाइ नहुने र यसको गुणात्मकता तिर ध्यान दिनुपर्ने बताउनुभयो । ‘सुरक्षित तवरले प्रयोग गर्न पाउने गरी कसरी अगाडि बढ्ने ? हामीले ध्यान दिनुपर्छ’ उहाँले भन्नुभयो ।
राजमार्गहरुमा सार्वजनिक शौचालय अपर्याप्त रहेको उल्लेख गर्दै उहाँले आफू स्वयं भुक्तभोगी भएको र भनेको स्थानमा शौचालय नहुँदा कामको उत्पादकत्वमा असर पार्ने बताउनुभयो । ‘यात्रा गर्दा सार्वजनिक शौचालयहरु कतिको उपयोग गर्न पाउँछौं ? भएका शौचालयहरुको अवस्था कस्तो छ ?’ सचिव शाक्यले भन्नुभयो ‘सार्वजनिक शौचालयहरुको कुरा गर्दा विशेष गरी महिलाहरुका लागि घर, स्कुलमा र काम गर्ने ठाउँमा शौचालय भएन भने समस्या हुन्छ । अझ त्यसमा पनि महिनावारी भएका र गर्भवती अवस्थामा धेरै समस्या हुन जान्छ’ उहाँले भन्नुभयो ।
सार्वजनिक शौचालय निर्माणको सवालमा खानेपानीमन्त्रीसँग समेत छलफल भईरहेको जानकारी गराउँदै उहाँले कामको शीलशीलामा पूर्व मेची देखि पश्चिम महाकालीसम्म धेरै यात्रा गरिरहनुपर्ने अवस्थामा हाईवेमा पब्लिक टोइलेटहरु नहुँदा धेरै समस्या भोग्नु परेको बताउनुभयो ।
गोष्ठीमा नेपालमा खुला दिसामुक्त अवस्थाको दिगोपना, दिसाजन्य लेदो प्रशोधनको वर्तमान अवस्था, सिकाई र अबको बाटो, सार्वजनिक तथा संस्थागत शौचालयको वर्तमान अवस्था, सञ्चालन तथा मर्मत सम्भार, चुनौती र अबको बाटो एवं शौचालय हाम्रो इज्जत र सरसफाइकर्मीहरुको स्वास्थ्य सुरक्षा तथा मर्यादा लगायत बिषयमा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।
विश्व शौचालय दिवसको अवसरमा संसारभर विभिन्न कार्यक्रमहरु भईरहेका छन् । संयुक्त राष्ट्र संघको आव्हानमा नोभेम्बर १९ तारिखका दिन संसारभर विश्व शौचालय दिवस मनाईदै आएको छ । यस बर्ष संयुक्त राष्ट्र संघले विश्व शौचालय दिवसको नारा शौचालयको महत्व (Valuing Toilet) राखेको छ ।


1169 पटक हेरिएको 

