
काठमाडौ : विश्व शौचालय दिवसमा सरसफाइको सुरक्षित व्यवस्थापनको माग जोडतोडका साथ उठाईएको छ । गोष्ठीका वक्ता, कार्यपत्र प्रस्तोता एवं टिप्पणीकार, प्रश्नकर्ता र विज्ञले शौचालयमा जम्मा भएको मानवमलमूत्रको सुरक्षित व्यवस्थापनमा जोड दिएका हुन् ।
खानेपानी तथा ढल व्यवस्थापन विभाग, पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) तथा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले संयुक्त रुपमा आयोजना गरेको गोष्ठीमा गुथीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले सार्वजनिक शौचालयको अवस्था र अपनाउन सकिने प्रविधिका बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यस्तै वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का कार्यकारी निर्देशक भावना शर्माले सरसफाइमा आईएसओ २४५२१ मापदण्ड र खानेपानी तथा ढल व्यवस्थापन विभागको ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाका प्रमुख सिडिई प्रभात श्रेष्ठले सरसफाइको वर्तमान अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्र माथि टिप्पणी गर्दै वास विज्ञ शरद अधिकारीले तीनै वटा कार्यपत्रहरु उत्कृष्ट रहेको भन्दै सार्वजनिक शौचालयहरु अति नै दुषित र फोहोर रहेको एवं यसको सञ्चालन तथा व्यवस्थापनमा नीतिगत रुपमा कतै उल्लेख नगरिएको भन्ने बिषय कार्यपत्र मार्फत अवगत भएको बताउनुभयो । यस्तै प्रविधिलाई बाईपास गरेर काम गर्न नसक्ने र निर्माण, व्यवस्थापन र सञ्चालन तीनवटै पक्षलाई अबलम्बन गरेर लैजान सकेमा मानवमलमूत्र व्यवस्थापन सजिलो हुने पक्ष एकदम मननयोग्य रहेको बताउनुभयो ।

गोष्ठीमा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य (बज्राचार्य) ले सन् २०१५ देखि यता शिक्षा र स्वास्थ्यमा अधिक बजेट विनियोजन हुँदै आए पनि खानेपानी र सरसफाइको बजेट बृद्धि हुन नसकेको बताउनुभयो । उहाँले मानिस शिक्षित भएपनि सचेतनाको पक्ष एकदमै कमजोर रहेकाले खानेपानी र सरसफाइको क्षेत्रमा अधिक मात्रामा सचेतनामूलक कार्यक्रमको खाँचो भएको र व्यवहार परिवर्तनमा जोड दिनुपर्ने औल्याउनुभयो ।

शौचालय बिनाको जिन्दगी कस्तो हुन्छ ? प्रश्न गर्दै काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणाले नेपाललाई खुला दिसामुक्त घोषणा गरेपनि १० प्रतिशतले अझै खुला रुपमै दिसा गरिरहेको जेएमपीको डाटाले देखाएको हुनाले शौचालयहरुको सुचारुपनाको पक्षलाई ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले दिगो विकास लक्ष्य हासिल गर्नका लागि कार्ययोजना बनाएर वित्तिय सुनिश्चितता गर्नुपर्ने बताउनुभयो ।

गोष्ठीमा काठमाडौ महानगरपालिकाको वडा नं. १५ का अध्यक्ष एवं काठमाडौ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले काठमाडौ उपत्यकाको सार्वजनिक शौचालयहरु रोग फैलाउने थलो भईरहेको हुन सक्ने बताउनुभयो । उहाँले सार्वजनिक शौचालयको स्थिति हेर्दा नागरिकहरुलाई अपराध गर्दै आएको जस्तो महसुस हुने बताउनुभयो ।
गोष्ठीका सभापति समेत रहेका पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) का अध्यक्ष अनिल भद्र खनालले पूर्ण सरसफाइको कार्यक्रमलाई संघीय सरकारको कार्यक्रमको रुपमा लैजान र खुला दिसामुक्त अभियान जसरी नै पूर्ण सरसफाइ अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । यस कार्यमा स्थानीय तहहरुसँग सहकार्य र साझेदारी गर्न सकेमा मात्र सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल हुने उहाँको भनाइ थियो ।

सन् २०१३ नोभेम्बर १९ मा संयुक्त राष्ट्रसंघको महासभाले विश्व शौचालय दिवसलाई औपचारिक मान्यता दिएपछि हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवसको रुपमा मनाउन थालिएको हो । विश्व शौचालय दिवसको यस बर्षको नारा Valuing Toilet रहेको थियो ।
कार्यक्रमका थप फोटाहरु :







1386 पटक हेरिएको 

