खानेपानी विभागलाई पूर्व हाकिमहरुको यस्तो छ सुझाव (भिडियो रिपोर्ट)

काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले स्थापनाको ५० औं बर्ष भव्य रुपमा मनाएको छ । विभागको स्वर्ण जयन्तीमा खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहतका कार्यालयमा कार्यरत कर्मचारीका अलावा खानेपानी मन्त्रालयका पूर्व सचिवहरु, तत्कालीन खानेपानी तथा ढल निकास विभागका पूर्व महानिर्देशकहरुलाई समेत आमन्त्रण गरिएको थियो ।

स्वर्ण जयन्तीको अवसरमा विभागले केही पूर्व महानिर्देशकहरुलाई मरणोपरान्त सम्मान गरेको थियो । वि.सं २०२९ सालमा नेपालमा खानेपानी र ढल व्यवस्थापन सम्बन्धी सेवा सञ्चालन गर्न स्थापना भएको खानेपानी तथा ढल व्यवस्थापन विभागलाई हालसम्म २४ जना महानिर्देशकहरुले नेतृत्व दिईसक्नु भएको छ । देहान्त भईसकेका पूर्व महानिर्देशकहरु बाहेक अन्य महानिर्देशकहरु भने उपस्थित भएर सम्मान लिनु भएको थियो ।

स्वर्ण जयन्तीमा पूर्व महानिर्देशक तथा खानेपानी मन्त्रालयका पूर्व सचिवहरु मध्येबाट मन्तव्य समेत व्यक्त गर्न लगाईएको थियो । मन्तव्यका क्रममा ती पूर्व महानिर्देशक एवं पूर्व खानेपानी सचिवले खानेपानी तथा ढल व्यवस्थापन विभागलाई सल्लाह सुझाव समेत दिनुभएको छ ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो रिपोर्ट :

तत्कालीन खानेपानी तथा ढल निकास विभागको महानिर्देशक ईश्वरी प्रसाद पौड्याल हाल निर्वाचन आयोगका आयुक्त हुनुहुन्छ । उहाँले खानेपानी तथा ढल व्यवस्थापन विभागले अहिलेसबैको ध्यान दिगो विकास लक्ष्यमा केन्द्रित रहेको र दिगो विकासको छैटौं लक्ष्य प्राप्तिका लागि विभागले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपालले सन् २०१७ मै सबै नेपालीलाई खानेपानी र सरसफाइको आधारभूत सुविधा पुर्‍याउने लक्ष्य राखेको थियो । आधारभूत सरसफाइको लक्ष्य सन् २०१९ को सेप्टेम्बरमै पूरा गरेको सरकारले खानेपानीको लक्ष्य पूरा गर्न भने अझै बाँकी छ । हाल ९४ प्रतिशत नागरिकमा मात्र आधारभूत खानेपानीको सुविधा पुगेको छ । खानेपानी मन्त्रालयका पूर्व सचिव एवं लोकसेवा आयोगका सदस्य माधव बेलबासेले शुद्ध खानेपानीको संरक्षण र न्यायोचित वितरणको काम सबैभन्दा चुनौतीपूर्ण रहेकोले यो चुनौतीसँग सामना गर्नुपर्ने बताउनुभयो ।

मुलुक संघात्मक ढाँचामा गएपछि तीन तहको सरकार छ । खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत देशभर २० वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरु छन् । ती आयोजना कार्यालयहरुले संघीय तहको ठूला प्रकृतिका खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरुको कार्यान्वयन गर्दै आएको छ । ती आयोजना कार्यालयहरु अस्थायी प्रकृतिको जस्तो देखिएकाले स्थायी कार्यालयको रुपमा लैजानुपर्ने र यसो गर्न सकेमा मात्र प्रादेशिक तथा स्थानीय सरकारहरु सँग समन्वय गर्न र जनतालाई सेवा प्रवाह गर्न सजिलो हुने पूर्व महानिर्देशक रामचन्द्र देवकोटाको सुझाव छ ।

खानेपानी मन्त्रालयका पूर्व सचिवहरुको प्रतिनिधित्व गर्दै मन्तव्य व्यक्त गर्नुभएका दिपेन्द्रनाथ सर्माले भने विभागको सक्षम जनशक्तिको उपयोग गरी गेम चेन्जर टाईपको परियोजना कार्यान्वयन गर्ने सोच राख्नुपर्ने, स्थानीय तहहरुको क्षमता विकास गर्ने र खानेपानी तथा ढल व्यवस्थापन क्षेत्रको रिसर्च र डेभेलप्मेन्टको काममा समेत हात हाल्न पनि सुझाव दिनुभयो ।

विभागको स्वर्ण जयन्तीको अवसरमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक तिरेश प्रसाद खत्रीले नेपालको अधिकांश भुभागमा खानेपानीको आधारभूत सेवा पुर्‍याउन सकेको कारणले नै जनताको स्वास्थ्य स्थितिमा उल्लेखनीय सुधार भएको बताउनुभयो । यस्तै बालमृत्युदरमा कमी आएको, नेपालीको समग्र आयु बढ्न गएको, ग्रामीण परिवेशहरुमा पानी बोक्ने समयको बचत भएको र जीवन स्तर सहज बनेको उहाँको भनाइ थियो ।

यत्ति हुँदाहुँदै पनि सत प्रतिशत नेपालीलाई खानेपानी सेवा पु¥याउने, खुला दिसामुक्त अवस्थालाई कायम राखी पूर्ण सरसफाइ सम्बन्धी क्रियाकलापहरु अगाडि बढाउन विभागले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने लगायत जिम्मेवारी त छँदैछ । यी क्रियाकलापहरुको माध्यमबाट मात्र दिगो विकास लक्ष्यको छैटौं लक्ष्य पूरा हुनेछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार