काभ्रे : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले काभ्रेको मण्डनदेउपुर बृहत सुख्खाक्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गर्नुभएको छ । इन्द्रावती नदीबाट लिफ्टिङ गरी मण्डनदेउपुर नगरपालिकाको ५५ सय ५ घरपरिवारलाई वितरण हुने खानेपानीको मुख्यमन्त्री पाण्डेले मंगलबार शिलान्यास गर्नुभएको हो ।
२०७२ सालको भूकम्पले पानीका मुहानहरु सुकेपछि मण्डनदेउपुरको माथिल्लो वस्तीहरुमा खानेपानीको चरम अभाव भयो । पानीको दिर्घकालीन व्यवस्थापनका लागि मण्डनदेउपुरका युवा तथा तत्कालीन जनप्रतिनिधीहरुले छलफल पनि चलाए । तर वस्तीभन्दा माथि खानेपानीको मुहान कतै नभएपछि इन्द्रावतीको पानी लिफ्टिङ गर्ने निष्कर्षमा पुगेको मण्डनदेउपुर बृहत सुख्खाक्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष राम लामाले बताउनुभयो ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो रिपोर्ट :
आगामी तीन बर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको शर्मा लामा रमन जेभीले खानेपानी आयोजना निर्माणको काम धमाधम गरिरहेको छ । तर ठेकेदारलाई मात्र कामको जिम्मा दिए तीन बर्षमा बन्ने योजना ६ बर्षमा पनि नबन्ने वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे बताउनुहुन्छ । समयमै सम्पन्न गरी पानी खुवाउन आवश्यक परे जनप्रतिनिधीहरु खानेपानी आयोजना स्थलमै छाप्रो हालेर सुत्नुपर्ने उहाँको भनाइ छ ।
इन्द्रवतीको किनारमा दुईवटा सम्पवेल बनाएपछि एउटा ३ तह र अर्को दुई तहमा लिफ्टिङ गरी थामी डाँडा र थुम्की डाँडामा पुर्याईनेछ । त्यहाँ छुट्टाछुट्टै मुख्य वितरण ट्याङ्की बनाए पछि करिब १८० किलोमिटर पाइप मार्फत घरघरमा पानी वितरण हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका आयोजना प्रमुख राजेन्द्र श्रेष्ठले बताउनुभयो ।
ग्रामीण भेगमा लिफ्टिङ प्रविधिमा सञ्चालित खानेपानीहरुको लागत भार निक्कै महँगो पर्ने हुँदा खानेपानीको दिगोपनामा अहिले देखि नै ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । कृषि सहकारी वा कुनै माध्यमबाट उपभोक्ताको आयस्तर वृद्धि गराउने कार्यक्रमबारे योजना बनाउनुपर्ने बिषयमा उहाँले मुख्यमन्त्री पाण्डेको समेत ध्यान आकर्षण गराउनुभयो ।
मुख्यमन्त्री राजेन्द्र पाण्डेले खानेपानीको शिलान्यास गरिसक्दा झमक्क साँझ परिसकेको थियो । दिउँसो २ बजे गर्ने भनिएको खानेपानीको शिलान्यास गर्न ढिलाई भए झैं खानेपानी आयोजना सम्पन्न गर्न पनि ढिलाई नहोस् भनेर स्थानीय बासिन्दा कामना गरिरहेका थिए ।


808 पटक हेरिएको 

