काठमाडौ : आफैले अर्गानिक तरकारी उत्पादन गरेर खाने मन भएपनि जग्गा वा माटोको अभावमा पूरा हुन सकेको छैन ? या माटो र मल छोइरहनुपर्ने झन्झटले उत्पादन गर्ने जाँगर चलेको छैन ? कि त धेरै परिश्रम गर्नुपर्ने भएर पो बजारबाट किनेर खाईरहनु भएको छ कि ?
यदि यसो हो भने यी सबै समस्याको एउटै समाधान हो माटो बिनै कौसी खेती गर्ने । माटो बिनै कौसी खेतीको कुरा गर्दा तपाईलाई असम्भव जस्तो लाग्न सक्छ । तर हाम्रै वरपरका दाजुभाइ, दिदीबहिनीले यो सम्भव छ भन्ने पुष्टि गरेर देखाईसक्नु भएको छ । माटो बिनै तरकारी उत्पादन गर्ने प्रविधिलाई ‘हाईड्रोपोनिक प्रविधि’ भनिन्छ । जहाँ घरायसी प्रयोग देखि व्यवसायिक प्रयोजनका लागि पनि उत्पादन गर्न सकिन्छ ।
यस प्रविधिको प्रयोग गरी कौसी खेती गर्नका लागि त्यत्ति ठूलो ठाउँको अवश्यकता पर्दैन । न माटो र मलकै अवश्यकता पर्छ । बिरुवालाई चाहिने पोषकतत्व उर्जा शक्ति मार्फत पानीकै माध्यमबाट सर्कुलर गरिन्छ । यसो गर्दा सबै विरुवामा समानुपातिक रुपमा पोषकतत्व पुग्न पाउँछ र समानुपातिक रुपमै वृद्धि विकास हुन्छ । गोडमेल गरिरहनुपर्ने, झारपात फालिरहनुपर्ने वा सिंचाई गरिरहनुपर्ने झन्झट पनि हुँदैन, यो प्रविधिमा ।
भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नं. २ की कल्पना बस्नेतले यो प्रविधि अपनाएर तरकारी फलाउन थाल्नु भएको छ । मध्यपुरथिमी नगरपालिका र वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को सहकार्यमा सञ्चालित तालिममा भाग लिएपछि उहाँले ‘हाईड्रोपोनिक प्रविधि’ प्रयोग गरी तरकारी फलाउन थाल्नु भएको हो । हाईड्रोपोनिक प्रविधिबाट तरकारी फलाउने तरिका र यसको फाइदाबारे बताउँदै हुनुहुन्छ कल्पना बस्नेत :
विस्तृतमा हेर्नुहोस् यो भिडियो :