हस्पिटल म्यानेज्मेन्ट सेन्टरमा दैनिक ४ टन अस्पतालजन्य फोहोर प्रशोधन हुने


पर्सा : वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवामा सञ्चालनमा आएको ग्रिन हस्पिटल म्यानेजमेन्ट सेन्टरमा प्रति दिन ४ टन अस्पतालजन्य फोहोर प्रशोधन गर्न सकिने भएको छ । ग्रिन हस्पिटल म्यानेजमेन्ट सेन्टर सञ्चालनमा आएपछि वीरगञ्जका दुई दर्जन बढी अस्पताल र दर्जनौँ क्लिनिकबाट निस्किने फोहोर व्यवस्थापन गर्न सहज हुनेछ । ६ करोड २२ लाख ७७ हजार ९८१ रुपैयाँमा निर्माण भएको सेन्टरको सोमबार मात्र महानगर प्रमुख विजयकुमार सरावगीले उद्घाटन गर्नुभएको थियो ।

दुई वटा अटो क्लेब तयारी अवस्थामा राखिएको सेन्टरमा अत्याधुनिक प्रविधि जडान गरिएको महानगरले जनाएको छ । जडान गरिएका अटो क्लेब नेपालकै सबैभन्दा ठूलो साइजको भएको जडान कम्पनी अमृत जलुकेनी जेभीका प्रतिनिधि नवराज खड्काले जानकारी दिनुभयो । अटो क्लेबको एउटाको साइज ३५१ लिटर क्षमताको रहेको उहाँको भनाइ छ।

त्यसैगरी एकै दिन ४ टन फोहोर प्रशोधन गर्न सक्ने २१ किलोको वासिङ मेसिन पनि सेन्टरमा जडान गरिएको वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेले बताउनुभयो । उहाँका अनुसार भविष्यलाई लक्षित गरी थप फोहोर उत्सर्जन भए त्यसलाई स्टोर गरी पुनः व्यवस्थापन गर्ने पूर्वाधार सहितको सेन्टर बनाइएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट वीरेन्द्र प्रधानले यस क्षेत्रका अस्पतालबाट निस्किएका फोहोर व्यवस्थापन गर्ने सेन्टर निर्माण हुनु सकारात्मक रहेको बताउनुभयो । गत १५ असारमै निर्माण सम्पन्न भए पनि सेन्टर हस्तान्तरण लगायत प्रक्रियाले सञ्चालनमा ढिलाइ भएको महानगरको योजना शाखाका इन्जिनियर प्रकाश अधिकारीले बताउनुभयो । ग्रिन हस्पिटल म्यानेजमेन्ट सेन्टर निर्माणका लागि गत २५ मंसिर ०७७ मा सम्झौता भएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार