फोहोर फाल्नेको निगरानी गर्न वाग्मती किनार र पूलमा सिसिटिभी

प्रतिनिधि तस्बिर

काठमाडौ : वाग्मती नदीमा फोहोर फाल्ने काम नरोकिएपछि त्यसको निगरानी सिसिटिभी बाट गरिने भएको छ । यसका लागि नदी किनार र पुलमाथि सीसीटीभी जडान गरिने भएको छ । काठमाडौँ उपत्यकाका सबै नदीमा सीसीटीभीबाट निगरानी गरिने योजना भए पनि पहिलो चरणमा बागमती पुलमा जडान गरिने बागमती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता कमल अर्यालले बताउनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा गोकर्णदेखि टेकुसम्म झोलुङ्गे पुल सहित पक्की पुल ११ वटा र अन्य थुप्रै पैदल यात्रुका लागि मात्र बनाइएका फलामे पुललाई लक्षित गरिएको छ भने स्थानीय तह र प्रहरी सँगको समन्वयमा यो कार्य अघि बढाउने गरी अहिले अध्ययन सुरु भएको छ । प्रवक्ता अर्यालले सीसीटीभीका साथै नदी छेउका बाटो किनारामा फोहोर राख्ने भाँडो पनि राखिने बताउनुभयो ।

भविष्यमा बल्खु, कर्मनासा, विष्णुमती, रुद्रमती ९धोबी खोला०, महादेव खोला धादिङ, गोदावरी, हनुमन्ते र मनोहरामा पनि यो कार्य अघि बढाईने उहाँले बताउनुभयो । हाल यी नदीमा पनि सफाइका लागि ढल व्यवस्थापन कार्य भइरहेको छ । यो सफाइ अभियान जनचेतना अभिवृद्वि गर्ने साङ्केतिक अभियान मात्र रहेको बताउँदै अर्यालले नदी किनारामा मानिसको सहज पहुँच नहटाउञ्जेल नदी सफा नहुने भएकोले नदीको पुलमा सीसीटीभी जडान गर्ने कार्य अगाडि बढाइएको हो ।

फोहोरका पोका नदीमा हुत्याउन नसकिने गरी तटमा हरियाली बाग–बगैँचा निर्माण गर्ने कार्य पनि थालिएको छ । उहाँ भन्नुहुन्छ, नदीबाट फोहोर टिप्ने र नदीमा फोहोर फाल्ने सरोवरी भएकोले नदी सफा हुन नसकेको हो । मोटरसाइकल, साइकल र मोटरबाट आएका तथा प्रभातकालीन यात्रामा हिँडेकाले नदीमा एकाबिहानै फोहोर फाल्ने गरेको उहाँ बताउनुहुन्छ ।

सीसीटीभी अभियानका लागि समितिले स्थानीय तहको साथ खोजेको छ । प्रवक्ता अर्यालका अनुसार आर्थिक स्रोत स्थानीय तह र समिति तर्फबाट हुनसक्छ भन्ने सोच समितिको रहेको छ । फोहोर फाल्नेलाई दण्ड र कारबाही गर्ने अधिकार समितिलाई नभएको हुँदा स्थानीय तह यसमा संवेदनशील हुनु आवश्यक छ, उहाँ भन्नुहुन्छ । बागमती सफाइ योजनाको सुरुवात सँगै २७ वर्षको अवधिमा १४ अर्ब ४२ करोड रुपियाँ खर्च भइसकेको प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले नदी लगायत सार्वजनिक स्थलमा फोहोर फाल्ने उपर मोबाइल फोनबाट फोटो खिचेर उजुरी दिन अनुरोध गर्नुभएको छ ।

बागमती नदी सफाइ अभियानको ४४८ हप्ता पूरा भएको छ । यस अभियानमा १६ हजार मेट्रिक टन फोहोर नदीबाट निकालेर व्यवस्थापन गरिए पनि अपेक्षाकृत रुपमा नदी अझै सफा भएको छैन । नदीमा फोहोर फ्याँक्ने क्रम नरोकिएका कारण नदी अपेक्षाकृत सफा हुन नसकेको बाग्मती सभ्यता एकीकृत विकास समितिका कार्यकारिणी सदस्य डा। माला खरेलले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार