काठमाडौ : नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस् एसोसिएसनका सभापति देवी आचार्यले अपाङ्गतामैत्री शौचालय नहुँदा आफूहरु भोक तिर्खा खपेर हिड्नु पर्ने बाध्यता रहेको र यसले मृगौला फेल हुन सक्ने जस्तो स्वास्थ्य जोखिम बढाएको बताउनुभएको छ । इन्टरनेसनल वाटर म्यानेज्मेन्ट इन्स्टिट्युट (IWMI) र स्मार्ट वास सोलुसन्सले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमको ‘संघीयतामा खानेपानी, सरसफाइ र स्वच्छता (वास) को अवसर र चुनौती एवं सरोकारवालाहरुको भूमिका बिषयक’ छलफलमा सभापति आचार्यले खानेपानीमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच भएपनि पानी पिएर हिड्न नसक्ने अवस्था रहेको बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तिहरुको समस्या सुनाउँदै आचार्यले भन्नुभयो ‘काठमाडौको शहरमै पनि अपाङ्तामैत्री शौचालय छैनन् । एक दुई वटा अपाङ्गतामैत्री शौचालय भएपनि त्यहाँ एकदमै फोहोर र दुर्गन्धित छ ।’
भएका शौचालयहरु ढोका खोलेर पस्नै नसक्ने अवस्थाको रहेको जसका कारण अपाङ्गता भएका व्यक्तिहरु कहीं स्कुल, कलेज, अफिस, व्यापार र सार्वजनिक स्थानमा जानुपर्ने भएमा अघिल्लो दिन देखि नै खाना कम खान र पानी कम पिउन बाध्य रहेको बताउनुभयो । ‘आज पानी पानी भनेर सुनिरहँदा मलाई एकदम पीडा बोध भएको छ’ उहाँले भन्नुभयो ।
उहाँले सार्वजनिक फोरमहरुमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिनुभयो । नीति नियम, योजना बनाउँदा, विकास निर्माणका कामहरु गर्दा पनि सरकारी तथा गैरसकारी संघसंस्थाहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सहभागिता गराउन उहाँले आग्रह गर्नुभयो । ‘यसो भएमा हाम्रा मुुद्दाहरु, समस्याहरु सम्बोधन हुने थियो’ उहाँको आग्रह थियो ।
‘अघिल्लो दिन देखि नै पानी नखाईकन अफिस, कलेज, स्कुल जान्छौं भनेको सुन्दा सामान्य मानिसलाई सहज जस्तो लागेपनि यसले भोलिका दिनमा निम्त्याउन सक्ने स्वास्थ्य समस्या जटिल हुने उहाँको भनाइ थियो । ‘निरन्तर रुपमा पानी नपिउँदा समयमा पिसाब फेर्न पाएन भने त्यसले ल्याउने समस्याहरु कति जटिल हुन्छ ? हामीले यसैको मुकाबिला गरिरहेका छौं’ उहाँले भन्नुभयो ‘एउटा शारीरिक अपाङ्गता त्यसमा पनि स्पाइनल कर्ड इञ्जुरी भएका व्यक्तिहरु जसले दिसापिसाब गएको पनि थाहा पाउँदैनन् । उहाँहरुले डाइपर लगाएर हिड्नुपर्ने हुन्छ र दुई दुई घण्टामा पिसाबहरु बाहिर फ्याँक्नुपर्ने हुन्छ । उसले दिनभरि स्कुल समय, कलेज समयमा दिसापिसाब गर्न पाएन भने उसको मृगौला तथा मूत्रथैलीमा क्षति हुने र ठूलो स्वास्थ्य समस्या सिर्जना हुनसक्ने सम्भावना छ ।’
विस्तृतमा हेर्नुहोस यो भिडियो :
छलफलमा खानेपानी तथा ढल व्यवस्थापन विभागको राष्ट्रिय सूचना व्यवस्थापन आयोजनाका प्रमुख डा. रजित ओझा, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्याल, नास्टका अनुसन्धानकर्ता डा. टिष्टा प्रसाई जोशी, सहरी विकास मन्त्रालयका वरिष्ठ समाजशास्त्री कमल अधिकारी, अधिवक्ता दिलराज खनाल लगायतले आ -आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।


853 पटक हेरिएको 

