काठमाडौ : पूर्वमन्त्री डा.गणेश शाह, काठमाडौ उपत्यका भित्र आयोजना हुने खानेपानी सम्बन्धीका कुनै पनि कार्यक्रम छुटाउनु हुन्न । निमन्त्रणा नपुगेको वा कार्यक्रम जुधेको अवस्थामा बाहेक उहाँ पानी सम्बन्धी कार्यक्रमलाई उच्च प्राथमिकता दिएर पुग्नुहुन्छ र प्राज्ञिक तहबाट विश्लेषण गर्नुहुन्छ ।
पानीको बिषयमा सरल तरिकाले व्यक्त गर्ने शैलीका कारण उहाँको भाषण जो कोहीलाई सुनिरहुँ जस्तो लाग्छ । केही दिन अगाडि उहाँ खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा लैंगिक समता र सामाजिक समावेशीकरण सम्बन्धीको गोष्ठीमा भेटिनु भयो ।
पूर्वमन्त्री शाहलाई हामीले खानेपानीको जल्दोबल्दो मुद्दा के के छन् ? भनेर सोध्यौं । उहाँले पाँच कुरा भन्नुभयो ।
१. पानीको मुहानलाई पूजा गर्ने चलन
पानीलाई पूजा गर्ने चलन थियो । त्यो भनेको यसलाई मास्नु हुँदैन भनेको हो । पूर्वीय दर्शनमा पानीलाई कहिल्यै पनि प्रदुषित गर्नुहुन्न भन्ने थियो । पानीको स्रोत मास्नु हुन्न, पानीको व्यापारीकरण गर्नुहुन्न भन्ने थियो । पानी बाँड्नु भनेको धर्मको काम थियो ।
२. उल्टो बाटोमा लाग्यौं
अहिले हेर्ने हो भने हामी उल्टो दिशा तिर गयौं । हामी पोखरी पुरेर पनि क्लव र अरु चीज बनाउँछौं । मुहान भत्काएर पनि बाटो बनाउँछौं । सुन्धारा सुकेपनि हामी वास्ता गर्दैनौं । सुन्धारा त सबै ढुंगेधाराको एउटा प्रतिक हो । पानीको स्रोतहरु मास्नुहुँदैन भन्ने हाम्रो पुरानो संस्कार तोडिसक्यौं ।
३. पानीका स्रोत सुके, पृथ्वीको गर्भ नै खाली भयो
हामी पानीका स्रोतहरु मासिरहेका छौं । पानीलाई प्रदुषित गर्नुहुँदैन भने पनि हामी पानीका खोलानाला प्रदुषित गरिरहेका छौं । पानीको मुहान भएकै ठाउँमा पनि धेरै ठाउँमा पोखरी पुर्ने काम गरिरहेका छौं । मुहान मास्ने काम गरिरहेका छौं । पहिले जमिनको सतहमा पनि पानी थियो ।
भूमिगत पानीकै कुरा गर्दा पनि तराईमा १०/२० फिटमै पानी आउँथ्यो । त्यो पनि अहिले छैन । पानी वैज्ञानिकहरुको भनाइ छ ‘पृथ्वीको माथिल्लो सतहमा पनि ज्वरो आएको छ, तातो छ । पृथ्वीको गर्भमा जुन पानी थियो, त्यो पनि खाली भैसक्यो ।’
४. जमिनको सतह कंक्रिटले छोप्यो, भूमिगत पानी पुनर्भरण भएन
हामीले जमिनको माथिल्लो सतह पनि सबै कंक्रिटले ढाक्यौं । पानी तल जानै दिएनौं र भूमिगत पानीलाई पुनर्भरण गरेनौं । जसका कारण भूमिगत पानीको सतह पनि दिन प्रतिदिन घट्दै गईरहेको छ ।
५. फोहोर पानी प्रशोधन भएन
हाम्रो जनसंख्या बढिरहेको छ । अहिले प्रति व्यक्ति पानीको खपत पनि बढिरेको छ । हामीले जुन फोहोर पानी निकाल्छौं त्यसलाई पनि प्रशोधन गरेर प्रयोग गर्नुछ । हामीले सफा पानीलाई पनि प्रदुषित बनायौं । फोहोर पानीलाई पनि प्रयोग गरेनौं । त्यसैले अब फोहोर पानी प्रशोधन गरेर पनि प्रयोगमा ल्याउनुपर्छ । अहिले जुन पानीका स्रोतहरु छन्, त्यसलाई प्रदुषणबाट कसरी बचाउने भन्ने ठूलो चुनौती हामीसँग छ ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :


1188 पटक हेरिएको 

