ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले राष्ट्रिय भवन संहितामा सेफ्टिक ट्याङ्कको बिषय पनि समावेश गरी नीतिगत निर्णय गर्नुपर्ने बताउनुभएको छ । घरको सुरक्षणको लागि सबै मापदण्ड पूरा गर्नुपर्छ भने पनि जमिन मुनि बस्ने सेफ्टिक ट्याङ्कीको बारेमा केही पनि उल्लेख नभएकाले सेफ्टिक ट्याङ्कीको बिषयलाई समेत समावेश गर्नुपर्ने उहाँको भनाइ छ । ‘हाम्रा जुन इन्जिनियर साबहरु हुनुहुन्छ उहाँहरुले पनि घरको डिजाइन गरिरहँदा त्यो सेफ्टिक ट्याङ्कलाई पनि सील्ड हुनुपर्छ भन्ने कुराहरुलाई जोड दिनुपर्छ’ उहाँले भन्नुभयो ।
उहाँले इन्जिनियरिङ काउन्सिल लगायत जुन जुन मन्त्रालयले भवन संहिता हेर्छ त्यो मन्त्रालयले भवन संहितामा सेफ्टिक ट्याङ्कीको बारेमा पनि नीतिगत निर्णय गरेर कडाईका साथ लागु गर्यौं भने मात्र मानव स्वास्थ्य र वातावरणलाई जोगाउन सक्ने बताउनुभयो । ‘किनकि चर्पीको सेफ्टिक ट्याङ्क शील्ड छैन । शील्ड सेप्टिक ट्याङ्क नभएपछि दिसाका रसहरु चुहिएर प्राकृतिक पानीका स्रोतदेखि लिएर हामीले बनाएका इनार कुवाहरु पनि दुषित भईरहेका छन् ।’ उहाँले भन्नुभयो ‘जसले गर्दा पानीजन्य रोगहरु नियन्त्रण हुन सकेका छैनन् ।’
नेपाल सरकार, डब्लुएचओ, युनिसेफले करोडौं खर्च गरिरहेको भए पनि हालसम्म नियन्त्रण गर्न नसकिरहेको उल्लेख गर्दै नगर प्रमुख श्रेष्ठले टाईफाइड, कलेरा लगायत अन्य रोगहरु कन्ट्रोल नहुनुमा चुहिने सेफ्टिक ट्याङ्क नै मुख्य कारण रहेको दाबी गर्नुभयो ।
‘दिसाका रसहरु चुहिएर हाम्रा पानीका स्रोतहरु प्रदुषित भयो, जसलाई हामीले प्रयोगमा ल्याउँदा हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्यो । यी सबै चीजको समाधान पनि एउटा शील्ड सेफ्टिक ट्याङ्क नै हो’ नगरप्रमुख श्रेष्ठ भन्नुहुन्छ ‘त्यसपछि त्यसलाई खाली गराएर ट्रिटमेन्ट प्लान्टमा लगेर प्रशोधन गर्यौं भने मात्र त्यसले सकारात्मक प्रभाव दिन सक्छ ।’
विस्तृतमा हेर्नुहोस् यो भिडियो :


807 पटक हेरिएको 

