
ललितपुर : दश बर्ष अघि ललितपुरको लुभु आसपासका गाउँहरुमा एक घर एक धारा सुरु भईसक्दा पनि ऐतिहासिक लुभु बजारमा कुनै चालचुल थिएन । जब लुभुबासीको आग्रहमा तत्कालीन लुभु गाउँ विकास समिति गुरुयोजना बनाउन बाध्य भयो त्यसपछि मात्र लुभुमा एक घर एक धाराले स्थान पायो ।
लुभुको घरघरमै खानेपानी पुर्याउने गुरुयोजना कार्यान्वयनका लागि लुभु खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था गठन भयो । संस्थाको अध्यक्षमा चुनिनुभयो ई. राम बहादुर श्रेष्ठ ।
उपभोक्ता संस्थाले एक जना कुशल नेतृत्वकर्ता पाएका कारण निर्धारित ८ सय घरमा त धारा जडान भयो नै । थप ६ सय घरमा पनि खानेपानी पुर्याउनु भयो । अहिले लुभु खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मार्फत नियमित १४ सय ५ घरपरिवारले खानेपानी उपभोग गर्दै आएका छन् ।
दिनहुँ बिहान ५ घण्टा र बेलुकी २ घण्टा खानेपानी वितरण गर्दै आएको उपभोक्ता संस्थाको योजना छ चौबीसैं घण्टा खानेपानी वितरण गर्ने । यसका साथै थप २ सय घरपरिवारले पनि धारा जडानका लागि निवेदन दिएका छन् । छिमेकी चसिडोल खानेपानी उपभोक्ता समितिले पानी वितरण गर्दै आएको घाफल क्षेत्र, टाउन प्लानिङको पूर्वी भाग र मूल बाटोको दायाँबायाँका बस्तीहरुको माग समेत लुभु खानेपानी उपभोक्ता संस्थामै आएको छ । यसको लागि लुभु खानेपानी उपभोक्ता संस्थासँग खानेपानी अपुग छ ।
अहिले पनि दैनिक १२ लाख लिटर पानीको माग रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष ई. रामबहादुर श्रेष्ठले बताउनुभयो । खानेपानीको बढ्दो माग धान्नका लागि खानेपानीको स्रोत थप गर्नुको अर्को उपाय छैन, उपभोक्ता संस्थासँग ।
खानेपानीको स्रोत थप गर्नलाई उपभोक्ता संस्थासँग पर्याप्त आर्थिक स्रोतको अभाव छ । खानेपानी उपभोक्ताबाट संकलित धारा जडान शुल्क र मासिक खानेपानी महसुल नै उपभोक्ता समितिको नियमित आयस्रोत हो । उक्त स्रोतबाटै कार्यालय सञ्चालन तथा कर्मचारीको तलब भत्ता र मर्मत सम्भार खर्च समेत धान्नु पर्ने भएकाले आन्तरिक स्रोतबाट खानेपानीको स्रोत थप्न सक्ने सामर्थ्य उपभोक्ता संस्था सँग छैन ।
विगतमा समेत दाताको सहयोगमा खानेपानीको अत्याधुनिक संरचनाहरु निर्माण गरी सञ्चालन गर्दै आएको लुभु खानेपानी उपभोक्ता संस्था अहिले पनि दाताको खोजी गरिरहेको छ ।
उपभोक्ताको मागलाई धान्नका लागि नयाँ डिपबोरिङ खन्ने लुभु खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको योजना छ । डिपबोरिङ गरेको पानीको प्रशोधन गर्ने प्रशोधनशाला, वितरण गर्न आवश्यक थोक वितरण प्रणाली तथा वितरण सञ्जालका लागि दाताको खोजी भईरहेको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।
विस्तृतमा हेर्नुहोस् लुभु खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष ई. रामबहादुर श्रेष्ठसँग वास खबरका सम्पादक पी.टी.लोप्चनले गर्नुभएको कुराकानीको सम्पादित अंश :


1493 पटक हेरिएको 

