काभ्रे : पहाडको थुम्कोमा छ, मानव बस्ती । बेँसीमा सलल बग्दछ, इन्द्रावती । वस्ती नजिकैको पानीका स्रोत जत्ति भूकम्पले भूगर्वमै दबिए । इन्द्रावतीमा प्रशस्त पानी भएपनि मण्डन देउपुरका बासिन्दा पानीको अभावमा छट्पटिनु सम्म छट्पटिए ।
त्यसपछि मण्डनदेउपुरका बासिन्दाले जुक्ति निकाले ‘इन्द्रावतीको पानी लिफ्टिङ गर्ने ।’ खानेपानी लिफ्टिङ त गर्ने तर आर्थिक स्रोत कसरी जुटाउने ? यसबारे मण्डनदेउपुरका युवा तथा तत्कालीन जनप्रतिनिधीहरुले धेरै पटक छलफल चलाएर खानेपानी तथा ढल व्यवस्थापन विभागसम्म पुगेको मण्डनदेउपुर बृहत सुख्खाक्षेत्र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष राम तामाङले बताउनुभयो ।
फलस्वरुप अहिले जलवायु अनुकुलित वृहत खानेपानी आयोजना अन्तर्गत मण्डनदेउपुर बृहत सुख्खाक्षेत्र खानेपानी तथा सरसफाइ आयोजना निर्माणाधीन अवस्थामा छ । खानेपानी आयोजनाको गएको मंसिर २१ गते वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शिलान्यास गरिसक्नु भएको छ । इन्द्रावतीको किनारमा दुईवटा सम्पवेल बनाएपछि लिफ्टिङ गरी मण्डनदेउपुर नगरपालिकाको ५५ सय ५ घरपरिवारलाई वितरण गरिने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका आयोजना प्रमुख राजेन्द्र श्रेष्ठले बताउनुभयो ।
विस्तृतमा हेर्नुहोस्, मण्डनदेउपुर बृहत सुख्खाक्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाको बिषयमा आयोजना प्रमुख श्रेष्ठसँग गरिएको कुराकानीको संक्षिप्त कुराकानीको सम्पादित अंश ।
आयोजना प्रमुख श्रेष्ठका अनुसार यो आयोजना अन्तर्गत दुई वटा खानेपानी स्किम सञ्चालन हुनेछन् । जस अन्तर्गत इन्द्रावती नदीको किनारमा दुई वटा सम्पवेल बन्नेछन् । ती सम्पवेलबाट एउटा ३ तह लिफ्टिङ गरी थामी डाँडामा पुर्याईनेछ भने अर्को दुई तहमा लिफ्टिङ गरी थुम्की डाँडामा पुर्याईनेछ ।
पहिलो स्किमको दुरी इन्द्रावतीबाट ९ सय मिटर छ । दोस्रो स्किमको दुरी ३ सय ६७ मिटर छ । इन्द्रावतीको पानी प्रशोधन गरेर मात्र लिफ्टिङ गरिने र वितरणका लागि अन्तिम रिजर्भ्वायर ट्याङ्कमा नपुर्याई बीच बीचमा बनेका थोक वितरण ट्याङ्कीबाट पनि वितरण गरिने आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो । दुवै स्किममा गरी मुख्य थोक प्रणालीमा ७ वटा ट्याङ्कीहरु निर्माण हुनेछन् भने वितरण प्रणालीमा २० देखि सय घनमिटरका २३ वटा ट्याङ्कीहरु बन्नेछन् । दुवै स्किमबाट प्रति सेकेण्ड २० लिटर पानी आपूर्ति हुने गरी डिजाइन गरिएको उहाँले बताउनुभयो ।


1436 पटक हेरिएको 

