फोहोर व्यवस्थापनको भक्तपुर मोडेल, देशका ५ वटा जिल्लाले पनि अबलम्बन गर्ने

 1421 पटक हेरिएको

भक्तपुर : फोहोर व्यवस्थापनमा भक्तपुरको मध्यपुरथिमी नगरपालिकाले अपनाईरहेको जापानी प्रविधिलाई देशका ५ जिल्लाका पाँच वटा नगरपालिकाले समेत अनुशरण गर्ने भएको छ । फोहोर व्यवस्थापनका लागि मध्यपुर थिमीमा सञ्चालन गरिएको पाइलट प्रोजेक्ट सफल भएपछि देशका ५ जिल्लाका पाँच नगरपालिकाले पनि अबलम्बन गर्न लागेको हो ।

मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले काभ्रेको पाँचखाल नगरपालिका, काठमाडौको चन्द्रगिरी नगरपालिका, चितवनको राप्ती नगरपालिका, दाङको तुलसीपुर नगरपालिका र सिन्धुपाल्चोकको एक नगरपालिकाले समेत उक्त प्रविधि अनुशरण गर्न लागेको बताउनुभयो । मध्यपुरथिमीले विगत चार बर्ष देखि जापानी प्रविधिबाट फोहोरलाई कुहाएर मल बनाउँदै आएको छ ।

सिएन्बीएम (CNBM) टेक्नोलोजीबाट फोहोरलाई आर्गनिक मलमा रुपान्तरण गरिन्छ । सी भनेको कार्बन, एन बाट नाईट्रोजन, बी बाट ब्याक्टेरिया र एम भनेको मिनरल हो । मध्यपुरथिमीले हाल करिब ६ हजार घरपरिवारको कुहिने फोहोरलाई मल बनाउदै आएको छ । यो मल प्रयोग गरेर रामेछापको गोकुलगंगा गाउँपालिकामा आलु खेती गर्दा दोब्बर उत्पादन भएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

गन्धरहित, विरुवाका लागि उच्च पोषणयुक्त प्रमाणित यो मल राष्ट्रपति कार्यालयको फूलबारीमा समेत प्रयोग हुँदै आएको छ । केही दिन अघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत यही मलको प्रयोग गरी कौसी खेती सुरु गर्नुभएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार