पानी दिवसमा खानेपानीमन्त्रीले गरे ५ महत्वपूर्ण घोषणा (भिडियो सहित)

काठमाडौ : विश्व पानी दिवसको अवसरमा खानेपानीमन्त्री उमाकान्त चौधरीले ५ वटा महत्वपूर्ण उदघोष गर्नुभएको छ । खानेपानी मन्त्रालयको आयोजना एवं सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) को सहआयोजनामा सुन्दरीजलमा भएको कार्यक्रममा खानेपानीमन्त्री चौधरीले खानेपानी आयोजना निर्माणमा उपभोक्ताले गर्नुपर्ने श्रमदानको व्यवस्था हटाईने, मेलम्ची खानेपानीको पुनः निर्माण गरी चैत्र मसान्तभित्रै काठमाडौ उपत्यकाका बासिन्दालाई खुवाउने लगायत महत्वपूर्ण घोषणा गर्नुभएको हो ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो


घोषणा नं. १, खानेपानी आयोजना निर्माणमा लगाईदै आएको श्रमदान हटाईने

खानेपानीमन्त्री चौधरीले खानेपानी आयोजना निर्माण गर्दा उपभोक्ताको तर्फबाट १० देखि ३० प्रतिशतसम्म श्रमदान गर्नुपर्ने व्यवस्थाले तराई मधेसका धेरै खानेपानी आयोजनाहरु अधुरो अवस्थामा रहेको, ती आयोजनाहरुमा नेपाल सरकारको ८० प्रतिशत बजेट लगानी भईसकेको र श्रमदान गर्न नसक्दा मात्र अलपत्र परेको लगायत कारणले अब खानेपानीमा उपभोक्ताले अनिवार्य श्रमदान गर्नुपर्ने नीतिलाई परिवर्तन गरिने बताउनुभयो ।
यसका लागि आफूले हिजो मात्र प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष जानकारी गराएको र आफू यो नीतिलाई जसरी पनि संशोधन गर्ने पक्षमा रहेको बताउनुभयो ।

घोषणा नं. २, खानेपानी लिफ्टिङ, पम्पिङ लगायतमा लाग्ने बिजुलीलाई सिंचाईमा लाग्ने विजुली सरह सुविधा उपलब्ध गराउने 

उहाँले उपभोक्ता समितिहरुले सिंचाई र खानेपानीमा लाग्ने विजुलीको महसुल एउटै बनाउन माग आएको र आफूले यस बिषयमा उर्जामन्त्री सँग छलफल गरिने बताउनुभयो । ‘

घोषणा नं. ३ मेलम्चीको पानी चैत्रभित्रै काठमाडौमा

गत असारमा आएको बाढीले क्षतिग्रस्त मेलम्चीको हेडवर्क्समा काम भईरहेको र यही मसान्तभित्रै राजधानीबासीलाई खानेपानी उपलब्ध गराउने उहाँले दाबी गर्नुभयो । आफू यसका लागि बेला बखत पुगेर अनुगमन गरिरहेको जानकारी गराउदै उहाँले चैत्र मसान्तभित्रै मेलम्चीको पानी काठमाडौ ल्याईने बताउनुभयो ।

घोषणा नंं ४ सामुदायिक विद्यालयहरुमा खानेपानी उपलब्ध गराईने

उहाँले सामुदायिक विद्यालयहरुमा अझै पनि खानेपानी नभएको र विद्यालयको शैक्षिक विकासका लागि वाधक बनिरहेकाले त्यस्ता विद्यालयहरुको तथ्याङ्क संकलन गरी खानेपानी मन्त्रालयले त्यस्ता विद्यालयहरुमा खानेपानी योजना वितरण गरिने बताउनुभयो ।

घोषणा नं. ५, मूल फुटाऔं अभियान सञ्चालन गरिने

खानेपानीमन्त्री चौधरीले आफूले सुक्दै गएको मूल फुटाउनका लागि विशेष कार्यक्रम सञ्चालन गर्न लागेको र यो खासगरी हिमाल र पहाडी भेगमा सञ्चालन हुने बताउनुभयो । उहाँले यस अन्तर्गत बृक्षरोपण गरी मूल जोगाउने, जलाधार क्षेत्रको संरक्षण एवं रिचार्ज पोखरीहरु निर्माण गरिने बताउनुभयो ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य (सिआर आचार्य) को रचना, महेश खड्काको संगीत तथा दिपक लिम्बु र दिपा सुहाङ लिम्बुको आवाजमा ‘पानी र जीवनको यात्रा अनन्त’ नामक गीतको समेत विमोचन गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार