भूमिगत पानी नियमन र व्यवस्थापन गर्न स्पष्ट नीति आवश्यक छ : सहसचिव खत्री

काठमाडौ : खानेपानी मन्त्रालयका सहसचिव तिरेश प्रसाद खत्रीले भूमिगत जलस्रोतको नियमन तथा व्यवस्थापनका लागि स्पष्ट नीति तथा कार्यनीतिको तर्जुमा गर्नुपर्ने बताउनुभएको छ । विश्व पानी दिवस मनाउन गठित मूल आयोजक समितिका संयोजक समेत रहेका सहसचिव खत्रीले भूमिगत जलस्रोत जमिनमुनि अदृश्य अवस्थामा रहने भएकाले यसबारेमा आम मानिसको यथोचित ध्यान नपुग्नु स्वभाविक रहेको भन्दै यसको नियमनका लागि स्पष्ट नीतिको आवश्यकता औल्याउनुभएको हो ।

खानेपानी मन्त्रालय र सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) को आयोजनामा मंगलबार सुन्दरीजलमा भएको कार्यक्रममा उहाँले भन्नुभयो ‘मन्त्रालयले खानेपानीको परिमाण तथा गुणस्तरलाई सुनिश्चित गर्न आगामी दिनहरुमा थोक वितरण प्रणालीको विकास, जलाशययुक्त खानेपानीको विकास, स्रोत संरक्षण कार्यक्रम, जल सुरक्षा नक्साङ्कन तथा फोहोरपानीको प्रशोधन लगायतका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेको छ ।’

यसको लागि खानेपानी छाता ऐनको तर्जुमा, राष्ट्रिय खानेपानी तथा सरसफाइ नीतिको मस्यौदा तयारी लगायत खानेपानी विस्तार तथा गुणस्तर सुधारका विभिन्न आयोजनाहरुको कार्यान्वयन लगायतका कार्यहरु भईरहेको सहसचिव खत्रीले जानकारी गराउनुभयो ।

विस्तृतमा हेर्नुहोस् भिडियो :

 

उहाँले प्राकृतिक तथा मानव सिर्जित कारणहरुले भूमिगत जलस्रोत प्रशोधन नगरी प्रयोग गर्नै नसक्ने अवस्था आउने भन्दै भूमिगत जलस्रोतको समस्या तराईको जिल्लाहरुमा विकराल बन्दै गएको बताउनुभयो । उहाँले भूमिगत जलस्रोतको तह घट्दै जानु, प्राकृतिक प्रदुषण बढ्दै जानु यसका अन्य प्रभावहरु रहेको बताउनुभयो ।

‘प्राकृतिक तथा मानव सिर्जित कारणहरुले समेत भूमिगत जलस्रोतको परिमाण तथा गुणस्तरमा दिनानुदिन ह्रास आईरहेको हुँदा मौलिक हकको रुपमा स्थापित स्वच्छ खानेपानी, सरसफाइ तथा स्वच्छ वातावरणको सुलभ पहुँच पुर्‍याउन चुनौतीपूर्ण रहेको छ ।’

सहसचिव खत्रीले पानीको मुख्य स्रोतको रुपमा रहेको भूमिगत जल प्रत्यक्ष रुपमा देख्न नसके तापनि सकारात्मक तथा नकारात्मक प्रभावहरु दैनिक रुपमा अनुभव गर्दै आईरहेको बताउनुभयो । विश्वमा लगभग स्वच्छ पानीको प्रमुख स्रोत भूमिगत जलस्रोत नै भएको उल्लेख गर्दै उहाँले नेपालमा पनि पानीको स्रोतहरु मध्ये भूमिगत स्रोत एक महत्वपूर्ण स्रोतको रुपमा रहेको बताउनुभयो ।

‘खानेपानी, सरसफाइ, कृषि तथा उद्योगको लागि हामी यसमा निर्भर छौं । यसका साथै सिमसार क्षेत्र, नदीहरुको अस्तित्वमा भूमिगत जलस्रोतको प्रभाव हुने हुँदा पर्यावरण जोगाउन यसको ठूलो भूमिका रहेको छ ।’ उहाँले भन्नुभयो ।

नेपालका ६ हजार नदीनालाबाट २२५ अर्ब घनमिटर हरेक बर्ष बगेर जाने गरेको र प्रतिबर्ष १२ अर्ब घनमिटर भूमिगत रुपमा पुनर्भरण हुने अनुमान रहेको उहाँको भनाइ छ । उहाँका अनुसार वर्ल्ड रिसोर्स इन्स्टिच्युटको २०१९ को अध्ययनले वाटर स्ट्रेस लेभलको हिसाबले नेपाल ४० औं स्थानमा छ भने दक्षिण एसियामा चौथो स्थानमा रहेको छ । नेपालमा पानी सुरक्षामा परेको प्रतिकुल प्रभावको प्रमुख कारणहरु मध्ये भूमिगत जलस्रोतको दोहन अत्यधिक हुनु पनि एक हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार