महिनावारी हुँदाका ४ दिन : २२ जना महिलाको अनुभूति समेटिएको पुस्तक सार्वजनिक

काठमाडौ : नेपालका विभिन्न क्षेत्रका २२ जना ख्याति प्राप्त महिलाहरुले महिनावारी हुँदा भोगेका अनुभूतिहरुलाई समेटेर तयार पारिएको पुस्तक ‘ती चार दिन’ सार्वजनिक गरिएको छ । पुस्तकका पात्रहरुबाटै ‘ती चार दिन’ पुस्तकको सार्वजनिकीकरण गरिएको हो ।


पुस्तकमा राजनीतिज्ञहरु महालक्ष्मी उपाध्याय ‘डिना’, हिसिला यमी, डा. डिला संग्रौला, पार्वती विशुंखे, डा. विमला राई पौड्याल, रामकुमारी झाँक्री देखि पत्रकार निर्मला शर्मा, मानवअधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारी लगायतले महिनावारीको समयमा भोगेको छुवाछुत तथा उक्त छुवाछुतजन्य व्यवहार अन्त्यका लागि गरिएको संघर्षका कथाहरु समेटिएको छ ।


महिनावारी एक शारीरिक एवं प्राकृतिक प्रक्रिया भएको र मानव सभ्यताको निरन्तरताको लागि महिलामा हुने अति नै महत्वपूर्ण अवस्थालाई पाप, छोइछिटो वा छि छि र दुरदुर गर्ने, छाउगोठमा बस्न बाध्य तुल्याउने कुरीतिका विरुद्धमा जनचेतना फैलाई, महिनावारीलाई मर्यादित एवं सहज रुपमा सबैले अपनाउन सकुन् भन्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको पुस्तकका परिकल्पनाकार त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. गंगाराम गौतमले बताउनुभयो ।


पुस्तकमा समेटिएका सकारात्मक र परिवर्तनशील अनुभवहरुलाई ऐन, कानुन, योजना तथा कार्यक्रम निर्माण क्षेत्रका नीति निर्माता तथा निर्णयकर्ताहरु र सरोकारवालाहरुले एउटा महत्वपूर्ण स्रोतका रुपमा प्रयोग गर्न सकिने डा. गौतमले बताउनुभयो ।

पुस्तक सार्वजनिकीकरण समारोहमा राष्ट्रिय महिनावारी सञ्जालका संयोजक गुणराज श्रेष्ठले मर्यादित महिनावारीमा कथाहरुको योगदानका सम्बन्धमा मन्तव्य व्यक्त गर्नुभयो । कथा संकलक लक्ष्मी न्यौपानेले कथा प्रस्तुतिका क्रममा हासिल गर्नुभएको अनुभव सुनाउनुभयो । कार्यक्रममा सञ्चारकर्मी आरती चटौतले कथाहरुको सम्बन्धमा टिप्पणी गर्नुभयो ।


हेर्नुहोस् ‘ती चार दिन’ पुस्तकका सम्बन्धमा सञ्चारकर्मी चटौतको टिप्पणी :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार