
ललितपुर : सुरक्षित खानेपानीयुक्त समुदाय घोषणाको महत्वबारे जानकारी गराउने उद्देश्यले ललितपुरमा तीन दिने तालिम सुरु भएको छ । काठमाडौ उपत्यकाका १८ वटै नगरपालिकाहरुका लागि वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले आयोजना गरेको तालिममा वातावरण शाखा र जनस्वास्थ्य शाखाका कर्मचारीहरु, खानेपानी उपभोक्ता समितिका सदस्यहरु र अन्य सरोकारवालाको सहभागिता रहेको छ ।
हेर्नुहोस् यो भिडियो रिपोर्ट :
सुरक्षित खानेपानीयुक्त समुदायको अवधारणा, यसको महत्व, सुरक्षित खानेपानी युक्त समुदायको लागि आवश्यक मापदण्ड र घोषणा गर्ने चरणहरुबारे उपत्यकाका सबै नगरपालिकाहरु, उपभोक्ता समितिहरु र सरोकारवाला अन्यलाई समेत जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको वातावरण र जनस्वास्थ्य संस्था एन्फोका वरिष्ठ कार्यक्रम व्यवस्थापक प्रसन्नमान प्रधानले बताउनुभयो ।
वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) र शहरी वातावरण व्यवस्थापन समाज (युम्स) ले ललितपुरको महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका र ललितपुर महानगरपालिकाबाट छनौट गरी १० वटा समुदायलाई सुरक्षित खानेपानीयुक्त शहरी समुदाय घोषणा गर्ने कार्यक्रम रहेको छ ।
सोही कार्यक्रम अन्तर्गत काठमाडौ उपत्यकाका १८ वटै नगरपालिकाका कर्मचारी, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्यहरु र अन्य सरोकारवालालाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणाको औचित्यबारे जानकारी गराउन तालिमको आयोजना गरिएको एन्फोकी कार्यक्रम अधिकृत मेरिना महर्जनले बताउनुभयो ।
तालिममा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०६२ ले तोकेको खानेपानीको गुणस्तर मापदण्ड, दिगो विकास लक्ष्य, सुरक्षित खानेपानीयुक्त समुदायको अवधारणा र यसका न्यूनतम आधारहरु लगायत बिषयमा सहजीकरण गरिएको छ ।

तीन दिनसम्म चल्ने तालिमको दोस्रो दिन जलवायु उत्थानशील खानेपानी सुरक्षा योजना, सुरक्षित खानेपानीयुक्त समुदाय बन्ने विधिहरु, खानेपानीको गुणस्तर परिक्षण विधि र खानेपानीको गुणस्तर अनुगमन तथा निगरानी लगायत बिषयमा सहजीकरण गरिने कार्यक्रम अधिकृत महर्जनले बताउनुभयो । उहाँका अनुसार तालिमको अन्तिम तथा तेस्रो दिन सरोकारवालाको भूमिका, नगरपालिका तहमा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणाका लागि कार्ययोजना निर्माण गरिनेछ ।
सुरक्षित खानेपानीयुक्त शहरी समुदाय घोषणा अन्तर्गत यस अघि नै जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिसकेको छ । कार्यक्रममा विभिन्न ९ वटा मुहानको पानी परिक्षण गरी तिनको नतिजा समेत सार्वजनिक गरिसकेको छ । महालक्ष्मी नगरपालिकाको विभिन्न ९ वटा पानीको स्रोतको नमुना परिक्षण गर्दा ४ वटा मुहानको पानीमा इकोली भेटिएको थियो भने ५ वटा नमुनामा कुनै पनि प्रदुषण नभेटिएको वातावरण र जनस्वास्थ्य संस्थाले (एन्फो) ले जनाएको छ ।
यस्तै महालक्ष्मी माध्यमिक विद्यालय वरपरका चिया पसल, खाजा घर, चटपटे पसल लगायतमा प्रयोग हुने पानीको विद्यार्थीहरु आफैले परिक्षण गरी निकालेको नतिजालाई समेत कार्यक्रममा सार्वजनिक गरिएको थियो । पिए भाइल टेस्ट किट प्रयोग गरी विद्यालयको तीन सय मिटर वरपरका २० वटा त्यस्ता पसलमा प्रयोग हुने पानी परिक्षण गर्दा कुनै पनि प्रदुषण नभेटिएको एन्फोले जनाएको छ ।
वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) र शहरी वातावरण व्यवस्थापन समाज (युम्स) ले काठमाडौ उपत्यकाको २१ वटै स्थानीय तहको खानेपानी सुरक्षाको अवस्था पत्ता लगाउन खानेपानीको परिक्षण समेत गरिरहेको छ ।


1340 पटक हेरिएको 

