खानेपानीको गुणस्तर सुधार देखि सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्ने सम्मका कार्ययोजना निर्माण

ललितपुरमा वास इकाई स्थापना गर्ने, चन्द्रागिरीमा कार्यविधि

ललितपुर : सुरक्षित खानेपानीको महत्व र सुरक्षित खानेपानीयुक्त समुदाय घोषणाको अवधारणा जनस्तरसम्मै पु¥याउने हेतुले ललितपुरमा जारी तालिम सकिएको छ । आफू कार्यरत नगरपालिका तथा समुदायमा आगामी दिनमा गरिने क्रियाकलापहरुको कार्ययोजना निर्माण गर्दै तालिम सम्पन्न भएको हो । तालिमको अन्तिम दिन बिहीबार तालिमका सहभागीले खानेपानीको गुणस्तर सुधार देखि सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्ने सम्मका कार्ययोजना बनाएका छन् ।

विस्तृतमा हेर्नुहोस् भिडियो रिपोर्ट :

जलवायु उत्थानशील खानेपानी सुरक्षा योजना निर्माण, सुरक्षित खानेपानीयुक्त समुदाय बन्ने विधिहरु, खानेपानीको गुणस्तर परिक्षण विधि, खानेपानीको गुणस्तर अनुगमन तथा निगरानी जस्ता बिषयमा खुलेर छलफल गरेका सहभागीले तालिम एकदम उपलब्धीमूलक रहेको बताएका छन् ।

ललितपुर महानगरपालिकाबाट तालिममा सहभागी हुनुभएका डा. छबिन्द्र गैरेले तालिम सहभागी भएपछि सुरक्षित खानेपानी सेवाको सुनिश्चित गर्ने महानगरपालिकामै खानेपानीको ल्याब स्थापना गर्नुपर्ने बोध भएको बताउनुभयो । उहाँले यो त्यत्ति जटिल बिषय पनि नभएको र जनप्रतिनिधीहरुलाई यसको अपरिहार्यता बारे महसुस गराउन सक्यो भने स्थापना गर्न सकिने बताउनुभयो ।

यस्तै काठमाडौ महानगरपालिकाकी सृष्टि श्रेष्ठले जत्ति आफूले विश्वविद्यालयमा सिकेको थियो, त्यो भन्दा बढी तीन दिनको तालिममा ज्ञान हासिल गरेको बताउनुभयो ।
सहभागीहरुले आफ्नो समुदायमा खानेपानीको अवस्थालाई दृष्टिगत गरी खानेपानीको गुणस्तर सुधार गर्ने देखि सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्ने सम्मका कार्ययोजना बनाएका हुन् ।

तालिमको दौरानमा आफूहरुले निर्माण गरेको कार्ययोजनालाई कार्यान्वयन गर्न प्रतिबद्ध रहेको ललितपुर महानगरपालिकाकी सम्पदा संरक्षण विभागकी अधिकृत सबिना महर्जनले बताउनुभयो । उहाँले सबैभन्दा पहिलो काम नै खानेपानी हेर्ने शाखाका प्रमुख तथा अन्य सरोकारवाला शाखासँग समन्वय गरेर वास इकाई स्थापनाको आवश्यकता र महत्व बुझाई यसको स्थापनाका लागि जोड गरिने बताउनुभयो ।

यस्तै चन्द्रागिरी नगरपालिकाकी वातावरण तथा विपद व्यवस्थापन शाखाकी अधिकृत भद्रा अर्यालले आफू नगरपालिकामा फर्केपछि नगरपालिकामा खानेपानी अनुगमन संयन्त्र नभएको र त्यसका लागि तोकेको निर्देशिका पनि नभएकाले यसका लागि विधान समितिसँग समन्वय गरेर कार्यविधि बनाउन पहिलो स्टेप चालिने बताउनुभयो ।
तालिमको आयोजक संस्था वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का वरिष्ठ कार्यक्रम व्यवस्थापक प्रसन्नमान प्रधानले तालिमको दौरानमा बनाएको कार्ययोजनाबाट आफू निक्कै उत्साहित भएको बताउनुभयो ।

तालिमको समापन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै युनिसेफ नेपालका वास विज्ञ दण्डीराम विश्वकर्माले वास सँग सम्बन्धित कार्यक्रमहरु संस्थागत बनाउन आग्रह गर्नुभयो । उहाँले गाउँपालिका तथा तथा नगरपालिका महासंघले वासको नमुना ऐनको सबै गाउँपालिका तथा नगरपालिकामा पठाईसकेको जानकारी गराउँदै यसलाई गाउँ तथा नगरसभाबाट पारित गरेर कार्यान्वयनमा ल्याउन आग्रह गर्नुभयो ।

यस्तै युनिसेफ नेपालका वास इकाई प्रमुख डाक्टर तामिज अहमदले नेपालले १० बर्षको अवधिमा ४३ प्रतिशतमा सीमित रहेको सरसफाइ सेवालाई ९५ प्रतिशत पार गर्न सफल भएको र सरसफाइ क्षेत्रमा यो ठूलो उपलब्धी भएको बताउनुभयो । काठमाडौ उपत्यका लगायत देशका विभिन्न जिल्लामा हैजाको प्रकोप देखिएको र सबै प्रदुषित खानेपानीको सेवनबाटै हुने गरेको उहाँको भनाइ छ । उहाँले मिक्स सर्भेक्षण प्रतिवेदन अनुसार खानेपानीको गुणस्तर सुधार गर्ने हो भने झाडापखालालाई ५० प्रतिशत घटाउन सकिने जानकारी गराउनुभयो ।

युनिसेफ नेपालसँगको सहकार्यमा वातावरण र जनस्वास्थ्य संस्था एन्फो र शहरी वातावरण व्यवस्थापन समाज (युम्स) ले काठमाडौ उपत्यकाको २१ वटै स्थानीय तहको खानेपानीको अवस्था पत्ता लगाउन खानेपानी परिक्षण समेत गरिरहेको छ । यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका र ललितपुर महानगरपालिकाबाट छनौट गरी १० वटा समुदायलाई सुरक्षित खानेपानीयुक्त शहरी समुदाय घोषणा गर्ने समेत कार्यक्रम रहेको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार