काठमाडौं : खानेपानीमन्त्री उमाकान्त चौधरीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालको अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेलम्चीको पानी एक पटक पिएर हेर्न आग्रह गर्नु भएको छ । मेलम्ची खानेपानी वितरणको शुभारम्भ गर्दै मन्त्री चौधरीले मेलम्ची खानेपानीको बिषयमा पूर्व प्रधानमन्त्री ओलीले भ्रम छर्ने अभिव्यक्ति दिदै हिडेको भन्दै उहाँलाई मेलम्चीको पानी पिउन आग्रह गर्नुभएको हो ।
पूर्व प्रधानमन्त्री ओलीले यो सरकारले मेलम्चीको पानी ल्याउनै सक्दैन भन्ने अभिव्यक्ति दिएको र हालै पनि मेलम्ची सुरुङबाट बाढी बाहेक केही नआउने भन्दै भ्रम छर्ने काम गरेको बताउँदै उहाँले सुन्दरीजल प्रशोधन केन्द्रमा प्रशोधन गरी काठमाडौबासीको घरघरमा आएको पानी पिउन आग्रह गर्नुभयो । ‘म त यहीकै धर्तीको पानी खाँदै आएको छु, सायद उहाँ विदेशबाट मगाएको पानी पिउनुहुन्छ कि ?’ मन्त्री चौधरीले भन्नुभयो ।
मन्त्री चौधरीले खानेपानीमा राजनीतिकरण नगर्न र भ्रम नफिजाउन पनि अध्यक्ष ओलीलाई आग्रह गर्नुभयो । नागरिकको जीवन सँग जोडिएको पानीको बिषयमा राजनीति होइन, साथ, सहयोग र समर्थनको खाँचो छ’ उहाँले भन्नुभयो ।
उहाँले लोकतन्त्र दिवसको दिन सन्त नेता स्वर्गीया कृष्ण प्रसाद भट्टराईको सपना साकार बनाउन पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको र राष्ट्रिय गौरवको मेलम्ची खानेपानीको समानुपातिक वितरण गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा समन्वय समिति गठन गरिएको जानकारी गराउनुभयो ।
उहाँले बढ्दो जनसंख्या र सम्भावित बाढी पहिरोलाई दृष्टिगत गरी बर्षातको समयमा मेलम्चीको विकल्पको रुपमा वाग्मती नदीको पानीलाई शुद्धिकरण गरी वितरण गर्न प्रक्रिया अगाडि बढाईएको र सिस्नेरी जलाधार क्षेत्र तथा महादेव खोलाको पानी काठमाडौ ल्याउनका लागि सम्भाव्यता अध्ययन भईरहेको बताउनुभयो ।
गत २०७८ चैत्र २९ गते मेलम्ची नदीबाट सुरुङमा पथान्तरण गरिएको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा प्रशोधन गरी थोक वितरण प्रणाली मार्फत काठमाडौ उपत्यकाका १० वटा रिजर्भ्वायर ट्याङ्कहरुमा जम्मा गरी वितरण गर्न थालिएको छ ।
काठमाडौ उपत्यका खानेपानी लिमिटेडको वानेश्वर शाखामा रहेको रिजर्भ्वायर ट्याङ्कको चाबी खोलेर खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी पुनः वितरण गर्नुभएको हो । मन्त्री चौधरीले मीनभवन आसपासका केही घरको धारामा पानी आए नआएको बारे अनुगमन गर्नुभयो । यस्तै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संघीय संसद भवन) अगाडि जडान गरिएको धारा खोलेर धारामा पानी पुगे नपुगेको समेत परिक्षण गर्नुभयो ।
मेलम्चीबाट प्राप्त दैनिक १७ करोड लिटर पानीलाई काठमाडौ उपत्यकामा समानुपातिक तवरले वितरण गर्ने काठमाडौ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ई. मिलन कुमार शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार पानीको उपलब्धता, रिजर्भ्वायर ट्याङ्कहरुले पु¥याईरहेको उपभोक्ता संख्या आदिको आधारमा कतै दिनहुँ र कतै दिन बिराएर पानी वितरण गरिने बताउनुभयो ।


944 पटक हेरिएको 

