खुला दिशामुक्त नगरपालिकामै शौचालय अभाव

कञ्चनपुर : खुला दिसामुक्त घोषणा गर्नु अघि सम्बन्धित क्षेत्रभित्रका हरेक घरमा शौचालयको व्यवस्था भई प्रयोग भएको हुनुपर्छ । अझ त्यस क्षेत्रका सरकारी तथा गैरसरकारी कार्यालय, संघसंस्था र सार्वजनिक स्थानमा समेत शौचालय हुनुपर्छ । 

तर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको लामो समय भइसक्दा समेत त्यहाँका विपन्न समुदायमा अझै शौचालय बन्न सकेका छैनन् ।

हालै सम्पन्न पूर्ण सरसफाइ कार्यशाला गोष्ठीमा वडा नं ४ का वडाध्यक्ष ज्ञानबहादुर बिष्टले अधिकांश विपन्न र जनजाति परिवारले शौचालय बनाउन नसकेको बताउनुभयो । उहाँका अनुसार राना, थारू समुदाय, टमटा टोल, बूढीनाला र आसापुर क्षेत्रका दलित र विपन्न परिवारले शौचालय अभावमा खोला किनारा र खेतमा शौच गर्ने गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका परिवारले नगरपालिकाले सबै सेवा सुविधा रोक्का गर्दा समेत पक्की शौचालय निर्माण गर्न नसकेको र अस्थायी शौचालय भत्किएकाले खेतमा शौच गर्न बाध्य भएको उहाँले बताउनुभयो । शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुर सिंह महराले जनचेतनाको अभावमा भएका शौचालय समेत प्रयोग नभएको बताउनुभयो । ‘धेरैले शौचालयमा दाउरा राख्ने र घाँस थन्क्याउने गरेको पाएको छु’ उहाँले भन्नुभयो ।

वडा नं १ का वडाध्यक्ष हरिश बिष्टका अनुसार शुक्लाफाँटा नगरपालिकाको मन्दिर र सार्वजनिक स्थानमा समेत शौचालयको व्यवस्था छैन । भएका ठाउँमा पनि सफाइको व्यवस्था नहुँदा दुर्गन्धित र प्रयोगविहीन भएका छन् । विद्यालयमा कक्षाकोठाभन्दा बढी शौचालय भए पनि सरसफाइ नगरिँदा दुर्गन्धित भएको उहाँले बताउनुभयो । अव्यवस्थित बस्तीमा शौचालय नहँुदा पूर्ण सरसफाइमा बाधा परेको वडा नं ११ का वडाध्यक्ष दिलबहादुर बुढाले बताउनुभयो ।

‘वडाका अधिकांश परिवारले छोरी–बुहारी छाउपडी हुँदा शौचालय प्रयोग गर्न नदिने रूढीवादी चलनका कारण खेत, खोला र झाडीमा शौच गर्न बाध्य भएका छन्’ वडाध्यक्ष दिलबहादुर बुढाले भन्नुभयो ।

नगरपालिकाका सबै बस्तीमा शौचालयको पहुँच पु-याउन सबैको सहयोगको खाँचो रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अधिकृत गौराज बहादुर लिम्बूले बताउनुभयो ।

नगरपालिकामा बसोबास गर्ने बासिन्दा मध्ये खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तथ्याङ्क अनुसार पक्की शौचालयको प्रयोग गर्ने ८ हजार ५०९ र कच्ची प्यान सेट सहितको शौचालय प्रयोग गर्ने परिवारको संख्या १५४ रहेकोे छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार