गैरीगाउँमा पानी पँधेरोको औपचारिक सुरुवात, दैनिक २ सय जार अन्तर्राष्ट्रिय गुणस्तरको पानी उपलब्ध हुने

  वास खवर सम्वाददाता  942 पटक हेरिएको

काठमाडौ : काठमाडौ महानगरपालिकाको वडा नं. ९ गैरीगाउँमा निर्माण गरिएको पानी पँधेरोको औपचारिक सुरुवात भएको छ । वाग्मती प्रदेश, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरको आर्थिक सहयोगमा निर्माण भएको पानी पँधेरोको शनिबार वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो ।

यसअघि काठमाडौ उपत्यकाको विभिन्न चार स्थानमा सञ्चालनमा ल्याएको पानी पँधेरोको प्रभावकारिताको आधारमा गैरीगाउँ र नरेफाँटमा गरी थप दुई स्थानमा पानी पँधेरा निर्माण गरिएको हो । जग्गा प्राप्तिको काम हुन नसक्दा अघिल्ला २ बर्षसम्म बजेट फ्रिजको वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो । उहाँले सुरुमा पानी पँधेरोको अवधारणा नभएपनि परिमार्जन गर्दै जाँदा अहिलेको अवस्थामा आईपुगेको बताउनुभयो ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

वाग्मती प्रदेशको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुर अन्तर्गत निर्माण सम्पन्न भएको पानी पँधेरोको संख्या ६ पुगेको छ । बाँकी दुई वटा पानी पँधेरो चालु आर्थिक बर्षभित्रै सम्पन्न हुने र अन्य ठाउँमा समेत निर्माण गर्नका लागि डिभिजन कार्यालयसँग छलफलको क्रममा रहेको सभामुख श्रेष्ठले बताउनुभयो । पानी पँधेरोको पानी विभिन्न चरणमा शुद्धिकरण गरेर मात्र वितरण गर्ने भएकाले गुणस्तरमा कुनै शंका नगर्न खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका प्रमुख अनिल प्रसाद केसरीले बताउनुभयो । पानी पँधेरोमा पानी भर्न ल्याईने जार आफ्नै घरको भएकाले यसको ध्यान दिएमा पानीमा प्रदुषण हुने सम्भावना नहुने उहाँले बताउनुभयो ।

एक जार पानीको मूल्य काठमाडौमा ५० रुपैयाँ सम्म पर्छ । तर यसको गुणस्तर निश्चित हुँदैन । काठमाडौ उपत्यकामा जारकै पानीबाट हैजा फैलिएका प्रमाण समेत भेटिएका छन् । तर पानी पँधेराबाट वितरण हुने पानीको शुद्धिकरणका लागि अन्तर्राष्ट्रिय प्रविधि अपनाईएको हुन्छ । पानी थाप्ने चरणसम्म पुग्दा ७ चरणसम्मको शुद्धिकरण हुने भएकाले पानीको गुणस्तरमा कुनै शंका नगर्न लुसेन ड्रप नेपालका कार्यकारी निर्देशक प्रकाश शर्माको आग्रह छ ।

गैरी गाउँको पानी पँधेराबाट एक पटकमा तीन वटा जार र एउटा बोतल भर्न सकिन्छ । पानी पँधेरामा सिक्का वा कार्डको माध्यमबाट स्वचालित तरिकाले पानी भर्न मिल्ने प्रावधान छ भने हातकै सहायताले पनि पानी भर्न सकिन्छ । पानी पँधेरोको व्यवस्थापनका लागि विकास गौतमको अध्यक्षतामा ७ सदस्यीय शक्तिविनायक खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरिएको छ । समितिले एक जार अर्थात २० लिटर पानीको मूल्य १० रुपैयाँ निर्धारण गरेको छ । यसैबाट पानी पँधेरोको सञ्चालन खर्च व्यहोर्नुपर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका प्रमुख अनिल प्रसाद केसरी बताउनुभयो ।

आर्थिक बर्ष २०७८/०७९ मा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरको ९० प्रतिशत अर्थात ३६ लाख ५८ हजार ९६४ रुपैयाँ ९३ पैसा र स्थानीयको १० प्रतिशत अर्थात ४ लाख ६ हजार ५५१ रुपैयाँ ६५ पैसाको लागतमा पानी पँधेरा निर्माण सम्पन्न भएको शक्तिविनायक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकी कोषाध्यक्ष कमला भट्ट गजुरेलले बताउनुभयो । ‘पुरानो सिनामंगल खहरे क्षेत्रमा खानेपानीको डिप बोरिङ तथा व्यवस्थापन योजना अन्तर्गत खानेपानीको बोरिङ र फिल्टर प्लान्ट निर्माण सम्पन्न गरी यसको स्वमित्व शक्ति विनायक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई प्रदान गरिएको छ ।

पानी पँधेरोको रेकर्ड अनुसार एकै दिन १ सय ८४ जार पानी समेत वितरण गरिएको छ । सस्तोमा पायो भन्दैमा पानीको दुरुपयोग नगर्न शक्तिविनायक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष विकास गौतमको आग्रह छ ।

काठमाडौ उपत्यकामा काठमाडौ उपत्यका खानेपानी लिमिटेड केयूकेएलले हप्ता १० दिनको फरकमा मात्र खानेपानी वितरण गर्दै आएको छ । हप्ताको २ घण्टा वितरण हुने पानीले उपभोक्ताको पानीको आवश्यकता पूरा गर्न सकेको छैन भने पानीको गुणस्तर प्रति उपभोक्ता संसंकित छन् । यस्तो अवस्थामा डराउँदै भएपनि बजारमा पाइने जारकै पानी पिउन बाध्य छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरले निर्माण गरेको पानी पँधेराले सम्बन्धित स्थानमा खानेपानी आपूर्तिमा देखिएका सबै समस्याको समाधान गर्न सक्छ । काठमाडौको अन्य स्थानमा समेत विस्तार गर्न सके सुरक्षित खानेपानी उपभोग गर्न पाउने नागरिकको अधिकार केही हदसम्म पूरा हुने थियो कि ?


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार