काठमाडौ : नेपाल स्वास्थ्यको लागि पानी नेवाले ३० औं बार्षिकोत्सव मनाएको छ । नेवाले तीन दशक यात्रा पार गरेको उपलक्ष्यमा आफ्ना सिकाई तथा खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा हासिल गरेको उपलब्धीहरुको आदानप्रदान गरी गर्दै बार्षिकोत्सव मनाएको हो ।
२०४९ साल साउन १५ गते स्थापना भएको नेवाले तीन दशक यात्रामा ५१ जिल्लामा सञ्चालित विभिन्न कार्यक्रमहरु मार्फत २१ लाख ३६ हजार भन्दा बढी जनसंख्यालाई खानेपानी सरसफाइ र स्वच्छता सुविधा उपलब्ध गराएको छ ।
हेर्नुहोस् यो भिडियो :
नेपाल स्वास्थ्यका लागि पानी, नेवाले तीन दशक लामो यात्रामा साना, मझौला र ठूला गरी २ हजार ५ सय ३८ वटा आयोजनाहरु निर्माण गरी खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा सुनिश्चित गरेको छ । नेवाले हालसम्म ४० हजार २६२ वटा सामुदायिक धारा निर्माण गरेको छ भने ६८५ वटा विद्यालयमा धाराहरु निर्माण गरी आधारभूत स्तरको खानेपानी उपलब्ध गराएको छ । यस्तै नेवाले १ लाख ४५ हजार ९ सय ६२ वटा घरायसी चर्पी र ६९१ वटा विद्यालयका चर्पीहरु निर्माण गरेको तथ्याङ्क छ । नेवाले खानोपानी र सरसफाइको क्षेत्रमा पुर्याएको योगदानको प्रसंसा गदै खानेपानीमन्त्री उमाकान्त चौधरीले ढल प्रणालीमा आधारित सरसफाइमा समेत लगानी गर्न आग्रह गर्नुभयो ।
नेवाले सन् २०२२ सम्ममा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका १९ हजार ८२९ जना सदस्यहरुलाई खानेपानी तथा सरसफाइ सम्बन्धी तालिम प्रदान गरेको छ भने ४ हजार ६ सय ४० जना हेरालुहरुले नेवा मार्फत क्षमता विकास तालिम प्राप्त गरेको तथ्याङ्क छ । नेवाको काम गर्ने तौरतरिका नै सरकारी निकायको भन्दा फरक भएकाले यसको प्रभावकारिता बढी रहेको बाग्लुङको तामनखोला .गाउँपालिकाका अध्यक्ष जोगबहादुर बूढाले बताउनुभयो ।
खानेपानी तथा ढल व्यवस्थापन विभागको राष्ट्रिय सूचना व्यवस्थापन परियोजनाले सन् २०१४ मा गरेको एक अध्ययनले २५.४ प्रतिशत खानेपानी तथा सरसफाइ आयोजना मात्र व्यवस्थित रुपमा सञ्चालन भएको देखाएको छ । तर नेवाले निर्माण गरेका ८० प्रतिशत खानेपानी आयोजनाहरु सुचारुपना अवस्थामा रहेको र ती बर्षौदेखि सञ्चालन भईरहेको नेवाको दाबी छ । खानेपानी मन्त्रालयका सहसचिव रत्न लामिछाने नेवाबाट सरकारले दिगोपनाको उपायहरु सिक्न चाहेको बताउनुभयो । उहाँले हाल मस्यौदाको रुपमा रहेको खानेपानी, सरसफाइ र स्वच्छता नीतिमा समेत नेवाको संलग्नताको आवश्यकता समेत औल्याउनुभयो ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को ३०औं बार्षिकोत्सवको अवसरमा राष्ट्रिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।
बार्षिकोत्सवको अवसरमा लामो समयसम्म सेवा गरेका कर्मचारी एवं पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) सन् १९९२ अर्थात २०४९ साल साउन १५ गते अति विपन्न तथा सिमान्तकृत समुदायमा खानेपानी, सरसफाइ र स्वच्छता सेवाको पहुँच पुर्याउने उद्देश्यले स्थापना भएको हो । नेवाका अध्यक्ष प्राध्यापक कपिल श्रेष्ठले आफूलाई पूर्व अध्यक्षहरुले सुम्पेको नेवालाई काम गर्ने शैली र इमान्दारिताको पर्याय बनाएर भावी पुस्तालाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपालमा गैरसरकारी संस्थाहरु बर्षेनी बृद्धि भईरहेका छन् । तर ती मुश्किलले दुई चार बर्षसम्म सञ्चालन हुन्छन् र त्यसपछि बन्द भएका कयौं दृष्टान्तहरु छन् । खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रलाई मात्र कार्यक्षेत्र बनाएर स्थापना भएको नेपाल स्वास्थ्यका लागि पानीले तीन दशक लामो यात्रा पार गर्नु नै दिर्घकालीन सामाजिक सेवाको एक नमुना उदाहरण हो ।


1193 पटक हेरिएको 

