काठमाडौं, लिखिता बराल : दिसापिसाब गरेबापत शुल्क तिर्नुपर्ने कुरा नयाँ होइन, तपाई हामी मध्ये धेरैले दिसापिसाब गरेको रकम तिर्दै आएका छौं । तर काठमाडौको रत्नपार्कमा सञ्चालित एउटा सार्वजनिक शौचालयले मुख र खुट्टा धुँदा पनि रकम असुल्दै आएको छ ।
सार्वजनिक शौचालयमा मुख धोए बापत पाँच रुपैयाँ र खुट्टा धुँदा थप पाँच रुपैयाँ तिर्नुपर्छ । यदि दिसापिसाब गर्ने, मुख र खुट्टा धुने काम एकैपटक गरेमा २० रुपैयाँ तिर्नुपर्छ ।
सार्वजनिक शौचालयमा पानीको अभाव भएकाले मुख धुने र खुट्टा धुनेलाई पनि अतिरिक्त शुल्क लगाउनुपरेको सार्वजनिक शौचालय सञ्चालक बताउँछन् । ‘कोही साबुन लाएर लामो समय लगाएर खुट्टा धुन्छन्, कोही पिसाब नफेरी मुख मात्र धोएर जान्छन्, यहाँ पानीको अभाव भनिसाध्य छैन, त्यसैले पानीको खर्च उठाउनका लागि भए पनि मुख र खुट्टा धुनेलाई शुल्क लगाएका हौं’ शौचालय सञ्चालक डम्मर भुजेलले बताउनुभयो ।
स्नान घर, नाम मात्र
शहरी सेवा केन्द्र अन्तर्गत सार्वजनिक शौचालयमा नुहाउने व्यवस्था समेतको सेवा उपलब्ध गराउने अवधारणाबाट चर्पी निर्माण गरिएको भएपनि शौचालयमा नुहाउने सेवा भने उपलब्ध गराएको छैन ।
बाहिर बोर्डमा स्नान घर भनिए तापनि भित्र जाँदा दिसापिसाब गर्ने व्यवस्था मात्र छ । पानीकै अभावमा स्नान सेवा दिन नसकेको भुजेलले बताउनुभयो ।
शुरुमा पानी बोरिङ गर्दा पानी नआएपछि त्यसपछि प्रयास पनि नभएको र स्नान सेवा नभएको उहाँले बताउनुभयो ।