काठमाडौ : खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाइ ऐन संसदको दुवै सदनबाट पारित भईसकेको बताउनुभएको छ । नेपाल स्वास्थ्यको लागि पानी (नेवा) को ३० औं बार्षिकोत्सव कार्यक्रममा मन्त्री चौधरीले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भईसकेको खानेपानी तथा सरसफाइ ऐन राष्ट्रपतिले प्रमाणीकरण गरेपछि तत्काल राजपत्रमा प्रकाशित हुने र त्यसपछि कार्यान्वयनमा आउने बताउनुभयो ।
खानेपानीमन्त्री चौधरीले खानेपानी तथा सरसफाइ ऐन पारित भइसकेको बताउनुभए पनि राष्ट्रिय सभाबाट पारित भई आएको सन्देश सहितको खानेपानी तथा सरसफाइ विधेयक २०७७ आज (मंगलबार) बस्ने प्रतिनिधि सभाको बैठकमा टेबुल गरिने कार्यसूची छ ।
आज बस्ने प्रतिनिधि सभाको बैठकबाट पारित भएपछि मात्र राष्ट्रपतिले प्रमाणीकरण गरी राजपत्रमा प्रकाशित हुन्छ ।
उहाँले खानेपानी मन्त्रालयले हालसम्म २०४९ सालमा बनेको जलस्रोत ऐनको भरमा कार्य सञ्चालन गर्दै आएको र खानेपानी तथा सरसफाइ क्षेत्रको छुट्टै ऐन नहुँदा धेरै कामहरु सञ्चालन गर्न समस्या भएको बताउनुभयो । उहाँले हालै सरकारले जारी गरेको राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड कार्यान्वयन गर्न ऐन लागु भएपछि सजिलो हुने बताउनुभयो ।
खानेपानी चौधरीले खानेपानी तथा सरसफाइ ऐन कार्यान्वयन भएपछि दिगो विकास लक्ष्य ६, सरकारको पन्ध्रौं योजनाले राखेको लक्ष्य पूरा गर्न समेत सहज हुने बताउनुभयो । मन्त्री चौधरीले आधारभूत खानेपानी प्राप्त गर्ने जनसंख्या ९५ प्रतिशत र उच्च तथा मध्यम स्तरको खानेपानी उपभोग गर्ने जनसंख्या ३२ प्रतिशत हाराहारी पुगेको समेत जानकारी गराउनुभयो ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :


1096 पटक हेरिएको 

