काठमाडौ : भूमिगत पानीको सतह दिनानुदिन भासिदै गएको, पानीमा आर्सेनिक, एमोनिया, आइरन जस्ता विभिन्न रासायनिक प्रदुषणहरु भेटिन थालेको तपाई हामीले सुन्दै र भोग्दै आएका छौं । जलवायु परिवर्तनका कारण कतै अति धेरै बर्षा त कतै पानी नै नपर्ने समस्या पनि तपाई हाम्रै आँखाले देख्न थालेका छौं । बर्षातमा परेको पानी उर्लेर भेल बग्न थालेपछि नदीनालामा पानीको वहाव एकैपटक बढ्ने र वस्तीमा पसेर धनजनको क्षति भएका कैयन घटनाहरु छन् ।
यो किन हुन्छ त ? जानकारहरुका अनुसार भूमिगत पानीको पुनर्भरण नहुँदा यी समस्याहरु सिर्जना हुन थालेका हुन् । काठमाडौमा भएको एउटा कार्यक्रममा वाग्मती प्रदेशको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका डिभिजन प्रमुख अनिल केसरीले उल्लेखित तीन वटै कारण र यसको समाधानका उपाय समेत सुझाउनुभयो ।
गत शनिबार काठमाडौ महानगरपालिकाको वडा नं. ९ गैरीगाउँमा पानी पधेंरोको उदघाटन कार्यक्रममा डिभिजन प्रमुख केसरीले पानी पधेरोको सञ्चालन र व्यवस्थापन गर्ने बिषयमा खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुलाई जानकारी गराउँदै भूमिगत पानीको पुनर्भरण नगर्दा आईपर्ने समस्याहरु समेत सुनाउनुभयो ।
उहाँले भूमिगत पानीको पुनर्भरण नभएकै कारण पानीको सतह घट्दै गएको र स्यालो ट्यूबबेलहरु सुक्दै गएको बताउनुभयो । सिनामंगल, गैरीगाउँ लगायतको क्षेत्रमा एयरपोर्टको धेरै भाग खुला भएका कारण बर्षातको पानी जमिनमुनि छिर्न पाएकाले जमिनमुनिको पहिलो तहमै पानी उपलब्ध भएको बताउनुभयो ।
भूमिगत पानीको उपलब्धता बढाउन, पानीमा हुने रासायनिक प्रदुषण कम गर्न र बर्षातको समयमा आउने भल, बाढीलाई रोक्न पनि भूमिगत पानीको पुनर्भरण अनिवार्य भईसकेको उहाँले बताउनुभयो । भूमिगत पानीको पुनर्भरण त गर्ने, तर कसरी त ? विस्तृतमा हेर्नुहोस् यो भिडियो :


986 पटक हेरिएको 

