मर्यादित महिनावारी अभियानले दिलायो ‘प्रवल जनसेवाश्री पदवी’

काठमाडौ : संविधान दिवसको अवसरमा विभिन्न मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित हुनुहुने ९९८ जना मध्ये गुणराज श्रेष्ठको नाम ‘प्रवल जनसेवाश्री’ बाट विभूषित हुनेको सूचीमा छ । मर्यादित महिनावारीको विषयमा निरन्तर अभियान सञ्चालन गर्दै आउनुभएका श्रेष्ठलाई महिनावारीको बिषयमा सामाजिक चेतना अभिवृद्धि गर्न पुर्‍याएको योगदानको कदर गर्दै ‘प्रवल जनसेवाश्री’ पदवीबाट विभूषित गर्ने घोषणा गरिएको हो । उहाँसँगै ‘प्रवल जनसेवाश्री’ पदवीबाट विभूषित हुनुहुनेहरु ३ सय २१ जना हुनुहुन्छ ।

श्रेष्ठ उनै हुन्, जो विगत ६/७ बर्ष यता आफ्नै पहलमा ‘राष्ट्रिय महिनावारी सञ्जाल’ गठन गरी मर्यादित महिनावारी सम्बन्धी अभियान चलाउँदै आउनुभएको छ ।

मर्यादित महिनावारी अभियानको सुरुवात

डडेलधुरा जिल्लालाई खुला दिसामुक्त घोषणा गरेर फर्किँदै गर्दा सामाजिक अभियन्ता श्रेष्ठले कार्यक्रम स्थलबाट पाँच मिनेट जतिको दुरीमा रहेको बाँसघारीमा दिसाको थुप्रो देख्नुभएछ । ‘खुला दिसामुक्त घोषणा गरिएको क्षेत्रमा यो दिसाको थुप्रो कसरी आयो ?’ उहाँको मनमा ठूलो प्रश्न खडा भएछ ।

सोधखोज गर्दै जाँदा घरमा चर्पी भएपनि महिनावारी भएको समयमा महिलाले चर्पी प्रयोग गर्न नपाउने भएका कारण बाँसघारीमा दिसा गर्ने गरेको पत्ता लागेछ । संयोजक श्रेष्ठ भन्नुहुन्छ ‘त्यसले मलाई खुला दिसामुक्त अभियान सफल हुन महिनावारी सम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्नु आवश्यक छ भन्ने कुराको बोध गरायो ।’

त्यसपछि उहाँले महिनावारीसँग सम्बन्धित काम गर्ने एनजिओ/आइएनजिओहरूको कार्यक्रमबारे जानकारी लिन थाल्नुभयो । यस क्रममा कसैले प्याड बनाउने र वितरण गर्ने, कसैले जनचेतना र कसैले तालिम आदि सञ्चालन गर्दै आएको पहिचान गर्नुभयो ।

सुरुमा सन् २०१७ तिर २० वटा जति एनजिओरआइएनजिओका प्रतिनिधि सम्मिलित राष्ट्रिय सञ्जालमा अहिले १०० जति संघ संस्था तथा व्यक्तिहरु सदस्य रहेको उहाँले बताउनुभयो । युनिसेफ, फिनिस दूतावास, अमेरीकी दूतावास, जर्मनी दूतावास, दर्जनौ आइएनजिओ, एनजिओ, संचारगृहहरु, विश्वविद्यालयहरु, अनुसन्धानकर्ताहरु, फिल्मी तथा सार्वजनिक व्यक्तिहरु यसका सदस्यहरु छन् ।

सञ्जालको मूख्य उद्देश्य सरकारी तथा गैरसरकारी संघ संस्थाहरुलाई संयोजन गरी एकीकृत कार्यक्रम र योजनाहरु बनाउने र कार्यान्वयन गर्ने, महिनावारी सम्वन्धी जानकारी तथा सूचनाको व्यवस्थापन गर्ने, राष्ट्रिय नीति तथा कार्यक्रमको पैरवी गर्ने र अन्तमा महिनावारी विषयलाई महिलाको गौरव र प्रतिष्ठाको रुपमा स्थापना गर्ने हो ।

यसको सचिवालय कोडेफले व्यवस्था गरेको छ भने यसलाई दैनिक संचालन गर्न न्क्ष्श् ले संयोजक गुणराज श्रेष्ठको सुपरिवेक्षणमा रहने गरी एक जना अन्तरराष्ट्रिय विकास सल्लाहकार समेत नियुक्त गरेको छ ।

महिनावारी स्वच्छताको क्षेत्रमा क्रियाशील संघसंस्थाहरुको राष्ट्रिय सञ्जाल बन्नु अघि संघसंस्थाहरु एकजुट थिएनन् । ती संघसंस्था आ–आफ्नो उद्देश्य केन्द्रित क्रियाकलापमा व्यस्त भएपनिआफू बाहेक अन्य संस्थाले गरेको कार्यको न चासो हुन्थ्यो, न चासो राखेको खासै अर्थ नै ।

तर महिनावारी स्वच्छताको क्षेत्रमा क्रियाशील संघसंस्थाहरुको राष्ट्रिय स्तरमा जब सञ्जाल बन्यो, त्यसपछि अनौपचारिक रुपमै भएपनि मासिक रुपमा भेट्ने, ज्ञान र सूचनाहरु आदानप्रदान गर्ने र सञ्जालले गर्ने कार्यको एजेण्डाबारे पनि छलफल हुन थाल्यो ।

राष्ट्रिय महिनावारी सञ्जालको संयोजक स्थापनाकाल देखि नै गुणराज श्रेष्ठ हुनुहुन्छ । उहाँकै अग्रसरतामा सञ्जाल गठन गरी राष्ट्रिय स्तरका विभिन्न अभियानहरु सञ्चालन भईरहेका छन् ।

महिनावारी बिना मानव संसारको परिकल्पना नै नहुने भएकाले महिनावारी भनेको मर्यादाको रहेको र मर्यादित महिनावारीलाई जोड दिएको श्रेष्ठको तर्क छ । उहाँले यस बिषयलाई नेपालमा हेडक्वार्टर स्थापना गरेर विश्वव्यापीकरण गर्ने योजना बनाइरहेको बताउनुभयो । ‘हामीले ओडिएफमा सफलता पाइसकेका छौँ भने मर्यादित महिनावारीको सवालमा पनि सफलता पाउने निश्चित छ । यो चाहिँ सरकार र एनजिओ/आइएनजिओले मिलेर काम गर्ने विश्वमा फरक मोडल हो’ श्रेष्ठले भन्नुभयो ।

 

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार