काठमाडौ : खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा रचनात्मक काम गर्दै आएको युवाहरुको समूह पश्चिम पाइलाले विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता सुधारका लागि देउसी भैली खेलेर रकम संकलन गरेको छ । पश्चिम पाइलाले वाटर एड, वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) क्लीन एनर्जी नेपाल ( CAN), एसिएफ इन्टरनेशनल र माउण्ड भ्यू रेसिडेन्सीमा देउसी खेली झण्डै ७० हजार रुपैयाँ संकलन गरेको पश्चिम पाइलाकी को -अर्डिनेटर अनिता भुजुले बताउनुभयो ।
संकलित रकम भक्तपुरको नङखेलमा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता सुधारका लागि खर्च गरिने र बाँकी रहेमा आवश्यकता पहिचान गरी अन्य विद्यालयमा खर्च गरिने उहाँले जानकारी दिनुभयो ।
‘हामीले देउसी भैली भट्याउँदा पनि खानेपानी र सरसफाइ विषयमा केही सन्देश दिन खोजेका थियौं, संकलित रकम पनि वासकै क्षेत्रमा खर्च गर्छौ’ को-अर्डिनेटर भुजुले भन्नुभयो ।
देउसीभैलीबाट संकलित रकम वास क्षेत्रमा खर्च गर्ने रचनात्मक कामका लागि सबैले स्याबासी दिएको र आफूहरु अझ उत्साहित भएको उहाँले बताउनुभयो ।
पश्चिम पाइला खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा क्रियाशील युवाहरुको समूह हो । पश्चिम पाइलाले केही समय अघि तराइको बाढी तथा डुबानबाट प्रभावित नागरिकका लागि आपतकालीन अवस्थामा खानेपानी शुद्धिकरण गर्ने विधिका विषयमा सचेतनात्मक कार्यक्रम सञ्चालन गरेको थियो ।