स्कुल जाँदा किताव सँगै पानी

रामेछाप : पुस्तक र कपी कलम सँगै पानी पनि बोकेर गए पानी पिउन पायो । जसले झोला मात्र बोकेर गयो उसले पानी बिनै दिन कटायो । रामेछापको नागदह गाविसमा रहेको झट्टेश्वर मावि धोवीमा अध्ययरत बालबालिकाहरु विद्यालयमा खानेपानीको अभावमा यस्तै अवस्था झेल्न बाध्य छन् ।

२०७२ बैशाख १२ को भूकम्पले विद्यालयमा ल्याएको खानेपानीको मुहानमा क्षति पुग्दा विद्यालयमा पानीको अभाव भएको हो । भूकम्पले क्षति पु¥याएको खानेपानी मर्मत गर्न नसक्दा विद्यालय रहेको नागदह गाविस र विजुलीकोट गाविसको सिमानामा पर्ने धोवी वजार र आसपासको क्षेत्रमा समेत खानेपानीको हाहाकार छ ।

खानेपानीको अभाव भएपछि विद्यालयमा अध्ययनरत बालबालिकालाई आफूलाई खान पुग्ने पानी घरवाटै लिएर आउन बालबालिकालाई अनुरोध गरिएको झट्टेश्वर माविका प्रधानाध्यापक केवल तिमल्सिनाले जानकारी दिनुभयो । ‘विगत वर्षहरुमा धोवी वजारवाट एकधारो पानी ल्याएर विद्यालयमा खानेपानीको व्यवस्था गरेका थियौं । अहिले भुकम्पले खानेपानी मुहानमा क्षति पुगेकाले खानेपानीको समस्या भएको हो’ प्रधानाध्यापक तिमल्सिनाले भन्नुभयो ।
विद्यालयले आग्रह गरेपछि विद्यालय जाँदा विद्यार्थीहरु घरबाटै पानीको वोतल लिएर जान्छन् । ‘विद्यार्थी मात्र होइन शिक्षक पनि पानी बोकेरै विद्यालयमा आउनुहुन्छ’ प्रधानाध्यापक तिमल्सिनाले भन्नुभयो ।
चर्पी पनि प्रयोगविहीन

विद्यालयमा पानीको व्यवस्था नहुँदा शौचालय समेत प्रयोगविहिन भएको छ । पानी नहुँदा जिल्ला शिक्षा कार्यालयको अनुदानबाट निर्मित शौचालयमा ताल्चा लगाएर राख्नु परेको विद्यालयले जनाएको छ । खानेपानीको वैकल्पिक मुहान नहुँदा पानी ल्याउन नसकिएको धोवी बजारका सोमवहादुर तामाङले बताउनुभयो ।

खानेपानीको मुहान मर्मत गर्नका लागि गत आर्थिक वर्ष जिल्ला विकास समिति रामेछापले १ लाख रुपैयाँ विनियोजन गरेपनि मर्मत सम्भारका लागि अपुग भएकाले मर्मत नभएको तामाङले बताउनुभयो । आर्थिक अभाव र खानेपानीको वैकल्पिक मुहान नहुँदा खानेपानीको समस्या व्यहोर्नुपरेको उपभोक्ता समितिका सचिव साजनकुमार तामाङले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार