काठमाडौ : दुई चार बर्ष पहिलेसम्म ड्रागन फ्रुटको खासै चर्चा थिएन । भर्खर भर्खर नेपाल भित्रिएको यो फलको बारेमा कमैले सुनेका थिए भने खेती गर्नेको संख्या त औलामै गन्न सकिन्थ्यो ।
नयाँ फल, बजारको अभाव नहुने, जस्तोसुकै माटोमा पनि फल्ने, लामो समयसम्म फल खान सकिने जस्ता विशेषताले अहिले ड्रागन फ्रुट लगाउनेको संख्या बढ्दो छ । घरको छतमा खेती गर्ने काठमाडौका घरधनीले तरकारी सँगै ड्रागन फ्रुटको विरुवा पनि लगाउन थालेका छन् ।
अर्गानिक कौसीबारी अभियानकी अध्यक्ष पवित्रा भण्डारीले भने ड्रागन फ्रुटको विरुवाको व्यवसायिक रुपमै उत्पादन गर्न थाल्नुभएको छ । विभिन्न समयमा गरी करिब ५ सय जत्ति विरुवा साथीभाइलाई बाँडिसक्नुभएकी भण्डारीसँग अहिले त्यत्ति नै संख्यामा बिक्रीका लागि तयार छन् ।
हेर्नुहोस्, यो भिडियो :
यसको विरुवा उत्पादन कलमी तथा बीउवाट गरिन्छ । २५/३० से.मि. लामो काण्डको टुक्रालाई पोलिव्यागमा रोपेर नर्सरीमा हुर्काईन्छ र ३ महिना पछि विरुवा रोप्न लायक हुन्छ । पोलि व्यागमा विरुवा तयार गर्दा माटो, वालुवा, प्राङ्गारिक मलको (१ः१ः१) मिश्रण बनाई कालो पोलिव्यागमा भर्नुपर्छ र विरुवा रोप्नुपर्छ । नर्सरीमा वीउ रोपेर पनि विरुवा उत्पादन गर्न सकिन्छ । अथवा सोझै पोलको वरपर प्रति पोल ४ वटा वीउ रोप्न पनि सकिन्छ । नर्सरीको विरुवालाई माटोको चिस्यान अवस्था हेरेर पानी दिनुपर्दछ । तर बढी पानी भएमा विरुवाको जरा कुहिन सक्छ ।
ड्रागन फ्रुट लामो समयसम्म फल खान पाइने प्रजातिको फल हो । वैशाखदेखि फुल्ने क्रम सुरु हुने ड्रागनको फल मङ्सिर सम्म खान पाइन्छ । मल र सिँचाईको उचित प्रबन्ध मिलाई स्याहार गरेको खण्डमा ६ महिनामै फल दिने अध्यक्ष भण्डारीले बताउनुभयो । ‘मैले ६ महिनामै फलाएर पनि खाएँ, विरुवालाई मल र सिँचाई त आवश्यक पर्छ नै, स्याहार पुगे ६ महिनामै फल दिँदोरहेछ’ उहाँले भन्नुभयो ।
वोटको वृद्धि अनुसार पानीको आवश्यकता बढ्दै जान्छ । फलको विकास भईरहेको समयमा पानीको अभाव हुनु हुँदैन । तर वोटको फेदमा पानी जमेमा जरा कुहिन सक्दछ । तसर्थ पानी सिंचाई गर्दा फेदमा नपर्ने गरी औठी आकारको कुलेसो वनाएर वरिपरि हाल्नुपर्दछ ।
गर्मी मौसममा ५–७ दिन विराएर सिंचाई गर्नु पर्दछ । मलखाद दिएपछि सिंचाई दिनु अति आवश्यक हुन्छ । धेरै पानी भएको अवस्थामा विरुवाको जरा कुहिने र लामो समय सुख्खा भएमा विरुवा ओईलाउन थाल्दछ । यस्को मुख्य कारण भनेको जरा धेरै गहिराईमा नजानु हो । सुख्खावाट जति प्रभाव पर्छ पानी जम्दा पनि त्यतिकै असर पर्दछ । भर्खर रोपेको विरुवामा चिस्यान बढी हुने गरेर पानी दिनु हुँदैन वरु सुख्खा भए पछि मात्र पानी दिनु राम्रो मानिन्छ ।


1326 पटक हेरिएको 

