भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले वायु प्रदुषणका कारण नगरपालिका क्षेत्र भित्रका हरेक घरमा क्यान्सरका रोगी हुने स्थिति आईसकेको बताउनु भएको छ । ‘नागरिक समाजलाई वायु गुणस्तर व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण’ कार्यक्रममा मेयर खत्रीले चाँगुनारायण नगरपालिकाको हरेक घरमा एक जना स्नातक गरेका जनशक्ति उत्पादन गर्ने सोच रहेपनि स्वास्थ्यको दृष्टिकोणले घरैपिच्छे क्यान्सर रोगी हुने स्थिति सिर्जना भईसकेको बताउनुभएको हो ।
हरेक दिन जसो फोक्सोको क्यान्सर, पाठेघरको क्यान्सर तथा ब्लड क्यान्सर र मुटु तथा मृगौला सम्बन्धी घातक रोगको सिफारिसका लागि नगरपालिकामा आउने गरेको प्रसंग निकाल्दै मेयर खत्रीले वायुको गुणस्तरमा आएको ह्रासका कारण यी सबै भएको हुनसक्ने बताउनुभयो ।
नागरिकको जीवन रक्षा गर्ने काम भन्दा अर्को ठूलो केही नहुने भन्दै उहाँले भन्नुभयो ‘पहिले नागरिकको स्वास्थ्य स्थिति सुधार्ने काम गरौं, बरु रोड पिच गर्ने, मठमन्दिर बनाउने काम पछि गरौंला ।’
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
वायुको गुणस्तर डब्लुएचओ मापदण्ड भन्दा १५ गुणा खराब
चाँगुनारायण नगरपालिकाको वायुको गुणस्तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मापदण्ड भन्दा १५ गुणा खराब छ । डब्लुएचओले हावाको गुणस्तर ५ माईक्रोग्राम प्रति मिटर क्युब तोकेको भएपनि बुधबार चाँगुनारायणको महामञ्जुश्री नगरकोट क्षेत्रमा वायुको गुणस्तर ७९.९ माईक्रोग्राम प्रति मिटर क्युब मापन गरिएको थियो ।
चाँगुनारायण नगरपालिकामा सबैभन्दा बढी ईटाभट्टाहरुका कारण वायु प्रदुषण हुने गरेको बताईन्छ । भक्तपुर जिल्लाभरिमा रहेका ६२ वटा ईटाभट्टा मध्ये ५२ वटा चाँगुनारायण नगरपालिका क्षेत्र भित्र मात्र सञ्चालित छन् ।
बिग्रदै गएको वायुको स्वच्छता अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौ उपत्यकाको १८ वटै नगरपालिकामा युएसएआईडीको आर्थिक सहयोगमा ‘स्वच्छ हावा परियोजना’ कार्यान्वयन भईरहेको छ । सन् २०२६ सम्म चल्ने यो परियोजना सम्बन्धित नगरपालिकाहरु सँगको सहकार्यमा Fhi360, Asian Institute of Technology (AIT) ENPHO र EPIC INDIA ले कार्यान्वयन गरिरहेको छ ।


1195 पटक हेरिएको 

