ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिकालाई पानी प्रयोगशाला हस्तान्तरण गरिएको छ । युनिसेफ नेपालको आर्थिक सहयोगमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले प्रयोगशाला स्थापना गरी त्यसको सञ्चालन, व्यवस्थापन र मर्मत सम्भारको दायित्व हस्तान्तरण गरिएको हो ।
प्रयोगशालामा खानेपानी परिक्षण सँग सम्बन्धित उपकरण तथा सामग्री गरी ५१ वटा वस्तुहरु छन् । ती उपकरणहरु के कस्ता कामका लागि कसरी प्रयोग गरिन्छन् भन्ने बारे महालक्ष्मी नगरपालिकाकी उप प्रमुख लक्ष्मी महर्जन, वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठ लगायत लाई देखाउँदै हुनुहुन्छ, लुभु खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रयोगशाला प्रमुख रवि कुमार महर्जन ।
हेर्नुहोस् यो भिडियो :
एन्फोले ‘खानेपानी गुणस्तर अनुगमन तथा खानेपानी गुणस्तर परिक्षण प्रयोगशाला सञ्चालन कार्यविधि २०७९’ को मस्यौदा समेत नगरपालिकालाई हस्तान्तरण गरेको छ । उक्त कार्यविधि नगरकार्यपालिकाले आवश्यक संशोधन गरी अनुमोदन गर्न सकिने एन्फोका कार्यक्रम अधिकृत विभोर महर्जनले बताउनुभयो ।
‘Towards Achieving Resilient and Water Safe Urban Communities in selected areas of Kathmandu Valley’ परियोजना अन्तर्गत एन्फोले ललितपुरकै गोदावरी नगरपालिकामा समेत खानेपानी परिक्षण प्रयोगशाला स्थापना गरी हस्तान्तरण गरिसकेको छ । शुक्रबार मात्र एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख समक्ष प्रयोगशाला हस्तान्तरण गरिएको कार्यक्रम अधिकृत महर्जनले जानकारी गराउनुभयो ।


733 पटक हेरिएको 

