
काठमाडौ : ‘नानी देखि लागेको बानी छुटाउन धेरै गाह्रो हुन्छ’ यो भनाईले पनि स्पष्ट पार्दछ कि, लागिसकेको बानी हटाउन कत्ति गाह्रो हुन्छ ? सानै देखि लागेको नराम्रो बानी परिवर्तन गर्नु भन्दा पनि गराउन अझ धेरै गाह्रो छ । एक पटक सोचौं त ‘आफ्नो घरमा चर्पी बनाउनु भन्दा अरुलाई बनाउन लगाउनु कति गाह्रो भएको थियो ?
व्यवहार परिवर्तन गराउनै नसकिने पनि होइन, तर यसका लागि प्रभावकारी सञ्चार र व्यवहार परिवर्तनका रणनीतिहरुमा ध्यान दिनुपर्छ । छायाँ नेपालका तालिम प्रशिक्षक मंगल दुवाल भन्नुहुन्छ ‘व्यवहार परिवर्तन भनेको जोखिमपूर्ण बानी व्यवहारको सट्टामा सकारात्मक नयाँ बानी व्यवहार अपनाउनु वा अपनाउन लगाउनु हो । व्यवहार परिवर्तन गराउने काम त्यत्ति सजिलो छैन, तर गराउनै नसकिने पनि होइन।’
तालिम प्रशिक्षक दुवाल मानिसहरु नयाँ कुरा सुन्न तत्पर भए पनि सुन्ने वित्तिकै व्यवहार परिवर्तन नगर्ने बताउनुहुन्छ । ‘विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता कार्यक्रमको योजना निर्माण तथा पुनरावलोकन’ सम्बन्धी रौतहटको चन्द्रनिगाहपुरमा भएको गोष्ठीमा प्रशिक्षक दुवालले भन्नुभयो ‘मानिसहरु नयाँ कुरा सुन्दछन् तर सुनेको कुरा के हो ? के गर्छ ? कसरी गर्छ ? कहाँ पाइन्छ भन्ने जस्ता जानकारी पनि लिन्छन् । अनि त्यसमा आफ्ना विश्वासिला साथीभाइ र छरछिमेकबाट समर्थन पनि भयो भने बल्ल त्यस कुरालाई विश्वास गर्दछन् ।’
त्यसपछि चित्त बुझेको कुरा अपनाउने र चित्त नबुझे नअपनाउने मानिसको स्वभाव हुने उहाँको भनाइ छ । तालिम प्रशिक्षक दुवाल भन्नुहुन्छ ‘निर्णय गरेको कुरा सम्भव भए केही मात्रामा अपनाएर पनि हेर्छन् र अपनाएको व्यवहारबाट फाइदा भयो भने मात्र पछिसम्म अपनाई रहन्छन् । त्यसैले व्यवहार परिवर्तन एकै पटक हुने कुरा नभई क्रमशः चरणबद्ध रुपमा निरन्तर हुने प्रक्रिया हो ।’

व्यवहार परिवर्तनका रणनीतिहरु :
तालिम प्रशिक्षक दुवाल मानिसको व्यवहार परिवर्तनका लागि तीन रणनीतिहरु अपनाउनुपर्ने बताउनुहुन्छ ।
पहिलो हो, व्यवहार परिवर्तन सञ्चार : प्रशिक्षक दुवालको भनाइमा मानिसको व्यवहार परिवर्तन गराउनुछ भने व्यवहार परिवर्तन सम्बन्धी प्रभावकारी सञ्चार गराउनु पर्दछ । जसको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु पर्ने हो, उनीहरुको व्यवहारमा प्रत्यक्ष प्रभाव पार्ने गरी सञ्चार गराउनुपर्दछ । यस्तो सञ्चार उनीहरुको मस्तिष्कमा पुग्ने गरी गराउनुपर्दछ ।
जस्तै : खुला स्थानको दिसा, यमराजको भिसा,
बंगला, टिभी, मोटरकार, चर्पी बिना जीवन बेकार
छोरी माथिको लगानी, ल्याउँछ सुनौलो बिहानी
बिहाबारी, बीस बर्ष पारी
सामाजिक परिचालन : व्यवहार परिवर्तनको दोस्रो रणनीति हो सामाजिक परिचालन, अर्थात सामाजिक परिचालनको माध्यमबाट मानिसको व्यवहारमा परिवर्तन ल्याउने काम । सामाजिक परिचालन भनेको समुदायका प्रभावशाली व्यक्तिहरु जस्तै मुखिया, शिक्षक, राजनीतिक दलका नेताहरु, स्वास्थ्यकर्मी, पालिकाका प्रतिनिधि, आमा समूह, महिला स्वास्थ्य स्वयं सेविका तथा संघसंस्थाको माध्यमबाट समुदायका व्यक्तिहरुको व्यवहारमा प्रभाव पार्दै परिवर्तन गर्न सहयोग पुर्याउनु हो ।
सरसफाइ र स्वच्छता व्यवहार परिवर्तन गर्न ती व्यक्ति, समुदाय तथा संघसंस्थाहरुको समर्थन जुटाउने र उनीहरुको सहयोगबाट समुदायमा सन्देशको व्यापक व्यवहार परिवर्तनका लागि उत्प्रेरणा जगाउन सकिने प्रशिक्षक दुवाल बताउनुहुन्छ । सरसफाइ अभियानमा सञ्चार क्रियाकलापहरुलाई विस्तार गर्न यस्ता व्यक्तिहरुलाई सरसफाइ अभियन्ताको रुपमा संलग्न गराएर अझ बढी सफलता प्राप्त गर्न सकिने उहाँको सुझाव छ । सामाजिक परिचालनमै पनि प्रभावकारी व्यवहार परिवर्तन सञ्चारलाई भने ध्यान दिनुपर्दछ ।
पैरवी : व्यवहार परिवर्तनका रणनीतिहरु मध्ये तेस्रो रणनीति हो पैरवी अर्थात वकालत । वकालत भन्नाले अन्य व्यक्तिहरुसँग सञ्चार गरेर सरसफाइका पक्षमा उनीहरुको समर्थन जुटाउने र उनीहरुको व्यवहारलाई विशिष्ट तरिकाले प्रभावित पार्ने काम हो । स्वच्छ चर्पीको प्रयोग र नियमित साबुन पानीले हात धुने अभियानमा आफ्ना विचारहरुलाई विस्तार गर्न वकालत गर्ने व्यक्तिहरुलाई संलग्न गराएर अझ बढी सफलता प्राप्त गर्न सकिने प्रशिक्षक दुवाल बताउनुहुन्छ । उहाँको विचारमा सबैभन्दा उत्तम वकालत गर्ने व्यक्तिहरु विषय विशेषज्ञ र स्वयंसेवकहरु, स्थानीय सामाजिक अभियन्ताहरु हुन् जसले आफ्ना आफ्ना अनुभवहरुलाई बाँडचुँड गर्न सक्छन् ।

व्यवहार परिवर्तन सम्बन्धी मुख्य मान्यता
तालिम प्रशिक्षक मंगल दुवाल व्यवहार परिवर्तन निम्न मान्यतामा आधारित रहने बताउनुहुन्छ । उहाँको भनाइमा अरुलाई परिवर्तन गराउँछु भनेर हिडेको व्यक्ति सुरुमा आफू परिवर्तन भएर देखाउनुपर्ने बताउनुहुन्छ ।
< अरुलाई परिवर्तन गर्न हामीले सर्वप्रथम आफूलाई परिवर्तन गर्नुपर्ने हुन्छ ।
< ज्ञान हुनु मात्र पर्याप्त हुँदैन ।
< एक पटकको मात्र प्रयास प्रभावकारी हुँदैन ।
< उल्लेख्य रुपमा परिवर्तन होस् भन्नाका लागि हामीले आफ्नो सुविधालाई समेत छोड्नुपर्छ ।
< परिवर्तनको वातावरण सिर्जना गरी सकारात्मक व्यवहार अपनाउन उत्प्रेरित गर्न सकिन्छ, बाध्य बनाउन सकिदैन ।
< यदि व्यवहार परिवर्तन भएन भने कुनै पनि कुरा सिकेको छैन भन्ने बुझिन्छ ।
< जब हामी असन्तुष्ट हुन्छौं, अनि परिवर्तनको सुरुवात हुन्छ ।
< सरसफाइ र स्वच्छता व्यवहार परिवर्तन गर्न सरसफाइको कमीले हुने हानी र फाइदाका बारेमा तथ्यपूर्ण जानकारी दिनुपर्छ ।
< जस्तै : साबुन पानीले हात धुँदा झाडापखालाजन्य रोगलाई ४४ प्रतिशतले कमी ल्याउन सकिन्छ ।
< खानेपानीको घरेलु शुद्धिकरणका उपायहरु अपनाउँदा ३९ प्रतिशतले कमी ल्याउन सकिन्छ ।
< यस्तै सरसफाइ कायम गर्दा ३२ प्रतिशतले कमी, स्वच्छता शिक्षा प्रबर्द्वन गर्दा २८ प्रतिशतले कमी, खानेपानी आपूर्ति गर्दा २५ प्रतिशत कमी, पानीको स्रोतमै शुद्धीकरण गर्दा ११ प्रतिशतले कमी ल्याउन सकिन्छ भनेर अध्ययनको निष्कर्षहरु सुनाउनुपर्छ ।

व्यवहार परिवर्तन गर्न उत्प्रेरित गर्ने तत्वहरु :
♦ फाइदा वा आर्थिक लाभ देखाउने। जस्तै :चर्पीमा लगानी गर्नु भनेको त्यसको कयौं गुणा प्रतिफल पाउनु हो आदि ।
♦ काम नलाग्ने भनी फालिएका सामग्रीहरुबाट सुन्दर सामग्रीहरु निर्माण गर्न सकिने बारे जानकारी गराउने ।
♦ सरसफाइ र स्वच्छता व्यवहारले सुन्दरता बढ्ने कुरा गर्ने ।
♦ समस्याको पहिचान र महसुसीकरण गराउने ।
♦ जीवन र मरणसँग जोडेर विभिन्न तथ्यहरु सुनाउने ।
♦ सरसफाइ र स्वच्छता व्यवहार अपनाउँदा इज्जत, प्रतिष्ठा बढ्ने कुरा विभिन्न उदाहरण सहित बताउने ।
♦ सरसफाइ र स्वच्छ व्यवहार अपनाउँदा पुरस्कार तथा प्रोत्साहन पाएका कुराहरु सुनाउने र सामाजका त्यस्ता व्यक्तिहरुलाई विभिन्न सभा समारोहमा पुरस्कृत गर्ने ।
♦ सन्देश प्रवाह सहित विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु आयोजना गर्ने ।
♦ व्यवहार परिवर्तन हुँदै गएका तथ्यहरुलाई बढ्दो ग्राफ (चित्रात्मक रुपमा ) देखाउने आदि ।


2674 पटक हेरिएको 


