दिगो विकास लक्ष्य ६ पूरा गरेको चुरेको एउटा गाउँ : जहाँको आफ्नै कथा छ (भिडियो रिपोर्ट)

  पी.टी.लोप्चन  939 पटक हेरिएको

बारा : दिगो विकासका १७ वटा लक्ष्यहरू मध्येको छैंटौं लक्ष्यमा भनिएको छ ‘सन् २०३० सम्ममा सबैका लागि स्वच्छ पानी र सरसफाईको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिश्चित गर्ने।’ उक्त लक्ष्य सुनिश्चित गर्नको लागि उपलक्ष्य ६.१ मा सन् २०३० सम्ममा सबैको खर्चले धान्न सक्ने लागतमा सबैका लागि समतामूलक रूपमा सुरक्षित खानेपानी पुर्‍याउने भनिएको छ । यस्तै उपलक्ष्य ६.२ मा सन् २०३० सम्ममा सबैका लागि पर्याप्त सरसफाइ र स्वच्छतामा समतामूलक पहुँच हासिल गर्ने र खुला दिसा गर्ने अभ्यासको अन्त्य गर्ने । यस क्रममा, महिला, बालिका, किशोरी तथा अन्य संकटासन्न अवस्थामा रहेकाहरूको आवश्यकतालाई विशेष ध्यान दिने भन्ने उल्लेख छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ अन्तर्गत पर्ने चकरी गाउँले भने उल्लेखित दुवै उपलक्ष्य हासिल गरिसकेको छ । उपलक्ष्य ६.१ मा उल्लेख भएजस्तै सबैको खर्चले धान्न सक्ने लागतमा खानेपानी उपलब्ध गरिएको छ । खानेपानी सञ्चालनको लागत धेरै नभएका हुनाले थानीदेवी खानेपानी उपभोक्ता समितिले खानेपानीको न्युनतम महसुल ७० रुपैयाँ मात्र निर्धारण गरेको छ । तोकिएको न्यूनतम महसुलमा १ युनिट पानी उपलब्ध हुने र त्यसपछि प्रति युनिट ७ रुपैयाँ मात्र लाग्ने उपभोक्ता समितिले निर्णय गरेको छ । ३ सय ३५ घरपरिवार रहेको चकरीको सबै घरमा एक घर एक धाराको व्यवस्था गरी २४ सै घण्टा सुरक्षित पानी उपलब्ध गराएकाले खानेपानी तथा सरसफाइ सुविधाबाट कसैलाई पनि नछुटाएको उपभोक्ता समितिका उपाध्यक्ष रामकुमार डिम्दुङले बताउनुभयो ।

उपलक्ष्य २ मा भने जस्तो सरसफाइ र स्वच्छतामा सबैको पहुँच रहेको र खुला रुपमा दिसा गर्ने अभ्यासको पहिले नै अन्त्य भईसकेको उहाँले बताउनुभयो । अहिले ‘एक घर एक शौचालय’ सँगै ‘एक घर एक धारा’ को पनि परिपूर्ति भएकाले खानेपानी र सरसफाइमा समतामूलक पहुँच पूरा भईसकेको उपाध्यक्ष डिम्दुङले बताउनुभयो ।

चुरेको फेदीमा रहेको यो समुदायले कसरी दिगो विकास लक्ष्य ६ समयमै पूरा गर्न सफल भयो, विस्तृतमा हेर्नुहोस् यो भिडियो :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार