सप्तरी : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका लगायत तराईमा यत्तिबेला शीतलहर छ । न्यानो कपडाको अभावमा विशेषतः यहाँका बालबालिका र बृद्धबृद्धाको ज्यान जोखिममा छन् । शीतलहरले तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ३ मा एक जनाको ज्यान लिईसकेको छ ।
तिलाठी कोइलाडी गाउँपालिका विपदग्रस्त क्षेत्र मानिन्छ । तीनै तिर नदीले घेरिएको यो गाउँपालिका बर्षामा बाढी र डुबानले आक्रान्त बन्छ । २०७४ सालको बाढीमा एक बालकको ज्यान गएपछि सदगत गर्ने जमिन नहुँदा बाढीमै अन्त्येष्टि गरिएको हृदय बिदारक घटना तिलाठी कोइलाडीमै भएको थियो ।
एकातिर मौसम अनुसार भईरहने विपद, अर्कोतिर दुषित पानी पिउनुपर्ने तिलाठी कोइलाठीबासीको बाध्यता हो । दुषित पानीकै कारण कुनै दिन अर्को विपद ननिम्त्याउँला भन्न सकिन्न । करिब ३२ हजार जनसंख्या रहेको तिलाठी कोइलाडी गाउँपालिका भरिमा नै अहिलेसम्म पाइपको पानी सेवन गर्ने एक जना पनि नभएको गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले बताउनुभयो ।
दिगो विकास लक्ष्य ६ को उपलक्ष्य ६.१.१ मा सन् २०३० सम्ममा पाइपबाट वितरित पानीमा पहुँच हुने घरधुरी ९० प्रतिशत पुर्याउने लक्ष्य छ । सन् २०२२ को अन्त्य सम्ममा ६८.४ प्रतिशत पुर्याउने लक्ष्य भए पनि अहिलेसम्म तिलाठी कोइलाडी जस्ता पाइपबाट पानी पिउनै नपाएका जनसंख्या धेरै छन् ।


779 पटक हेरिएको 

