सप्तरी : सप्तरीको रुपनी गाउँपालिकामा पानी परिक्षण प्रयोगशाला स्थापना भएको एक बर्ष भयो । प्रयोगशाला स्थापनाको सुरुका दिनहरुमा खानेपानी परिक्षण गर्न मानिसहरुले खासै चासो दिदैनथे । तर अहिले पानी परिक्षण गर्न नआएको दिनै हुँदैन ।
सुरक्षित पानी मात्र पिउनुपर्छ भन्ने उपभोक्तामा आएको सचेतनाका कारण पानी परिक्षण गर्ने मानिसहरुको संख्या बढेको प्रयोगशाला सञ्चालन गर्दै आउनुभएका अरुण कुमार मण्डलले बताउनुभयो ।
रुपनी गाउँपालिका सँगको समन्वयमा युनिसेफ नेपालले एक बर्ष अगाडि पानी परिक्षण प्रयोगशाला स्थापना गरेको हो । प्रयोगशाला सञ्चालनका लागि विश्व स्वास्थ्य संगठन र गाउँपालिका महासंघबाट तालिम लिनुभएका अरुण कुमार मण्डल रुपनी गाउँपालिकाको प्रमुख ट्रिगरर समेत हुनुहुन्छ ।
खानेपानी र सरसफाइ सम्बन्धी सचेतना जगाउने उहाँको मुख्य जिम्मेवारी हो । गाउँ-गाउँ पुगेर सरसफाइ सम्बन्धी सचेतना जगाउनु पनि पर्ने भएकाले हप्ताको तीन दिन मात्र पानी परिक्षण हुने उहाँले बताउनुभयो ।
प्रयोगशाला खुलेको दिन १० वटा भन्दा बढी पानीको नमुना संकलन हुने गरेको प्रमुख ट्रिगरर मण्डलले बताउनुभयो । उहाँका अनुसार परिक्षणमा ल्याएका ९० प्रतिशत पानीमा इकोली भेटिएको र उनीहरुलाई पानी शुद्धिकरण गर्ने तरिकाहरु समेत बताएर पठाउने गरिएको छ ।


924 पटक हेरिएको 

