विद्यालयमा खानेपानी र सरसफाइको पर्याप्त सुविधा किन आवश्यक पर्छ ? प्रधानाध्यापक थापासँग वास सम्बाद

  वास खबर सम्वाददाता  1311 पटक हेरिएको

रौतहट : ‘अभिभावक ज्यू नमस्कार ! कता हिड्नुभयो कुन्नि ? एक चोटी विद्यालयमा प्रवेश गरी छोराछोरीको पढाईबारे छलफल गरौं कि ?’ महेन्द्र माध्यमिक विद्यालयको प्रवेशद्वार अगाडिको भित्तामा यो कुरा देख्ने जो कोही अभिभावकलाई शिक्षक आफैले बोलाए जस्तो लाग्न सक्छ ।

भित्तेलेखन मार्फत गरिएको उक्त आग्रहले विद्यालयमा आफ्ना बालबालिका अध्ययन गरिरहेका छन् भने जाँदै जान्न भन्ने अभिभावकलाई पनि एक पटक विद्यालयमा प्रवेश गरौं गरौं लाग्ने बनाउँछ ।

विद्यालयमा प्रवेश गरेपछि निर्माणका कामहरु भईरहेको देख्नुहुनेछ । बर्षौ पुरानो एउटा शौचालय जगै देखि भत्काएको छ भने अघिल्तिरको दुईवटा शौचालयसँग अर्को थप गरेर तीन वटा बनाईदैछ । पछिल्तिरको शौचालय पनि सुधार गरिदैछ । छात्राहरुले प्रयोग गरिरहेको शौचालयमा भेन्टिलेसनको अभाव, भुँईमै पिसाब जम्ने र पानीको व्यवस्था नहुँदा दुर्गन्धित हुने जस्ता समस्या भएपछि सुधार गरिएको हो ।

यस्तै अपाङ्गता भएकाका लागि र शिशु कक्षामा अध्ययनरत साना बालबालिकाका लागि पनि छुट्टै शौचालय बनिरहेको पनि देख्नुहुनेछ । विद्यालयमा भईरहेको यी सबै सुधारका कामहरु देखेपछि एक असल अभिभावकको नाताले तपाईको मनमा आनन्द मिल्नेछ ।

युनिसेफ नेपालको आर्थिक सहयोगमा छा-याँ नेपाल र पिपुल्स प्रमोट सेन्टर (पीपीसी) द्वारा संयुक्त रुपमा सञ्चालन भैरहेको ‘विद्यालय खानेपानी, सरसफाइ र स्वच्छता कार्यक्रम’ अन्तर्गत विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता सेवाको सुधार भईरहेको हो ।

विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छताको अवस्था, विद्यार्थी संख्याको अनुपातमा खानेपानी र सरसफाइको पर्याप्त सुविधा नहुँदा विद्यालयको पठनपाठन लगायत शैक्षिक गुणस्तरमा पर्ने असर र अबको योजना लगायत बिषयमा महेन्द्र माध्यमिक विद्यालय, चन्द्रपुरकी प्रधानाध्यापक कमला थापासँग हामीले कुराकानी गरेका छौं ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

‘विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता’ (वास इन स्कुल) कार्यक्रम महेन्द्र माध्यमिक विद्यालय सहित बारा र रौतहटका गरी २२ वटा सामुदायिक विद्यालयमा सञ्चालित छन् । ती सबै विद्यालयमा आवश्यकताको आधारमा खानेपानी, सरसफाइ र स्वच्छता सुविधा बढाउन मर्मत एवं निर्माणको काम भईरहेको छायाँ नेपालले जनाएको छ । सबैजसो विद्यालयमा चर्पीको मर्मत सम्भार गरी अपाङ्गता तथा छात्रछात्रामैत्री शौचालय बनाउने काम भईरहेको वास इन स्कुल परियोजनाका टिम लिडर राम महर्जनले जानकारी दिनुभयो ।

विद्यालयमा निर्माण गरिएका खानेपानी, सरसफाइ र स्वच्छता संरचनाहरुको सञ्चालन र दिगो उपयोगका लागि वाश फोकल शिक्षक, सरसफाइ कर्मचारी र बाल क्लवलाई तालिम प्रदान गरी क्षमता अभिवृद्धि गरिएको उहाँले बताउनुभयो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार